आगामी साउनदेखि धितोपत्रको अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन शुल्क लाग्ने भएको छ।
साउनदेखि पूर्ण रुपमा अनलाइन कारोबार संचालन गर्ने तयारी गरेको नेप्सेले साउनदेखि अनलाइन कारोबार प्रणालीका लागि युुजर आइडी र पासवर्ड लिदा शुल्क लाग्ने व्यवस्था गर्ने भएको हो।
तर, आगामी असार मसान्तसम्म अनलाइन कारोबारका लागि पासवर्ड र युुजर आइडी प्राप्त गर्न ग्राहकसँग कुुुनै शुल्क नलिने नेप्सेको भनाइ छ ।
नेप्सेले साउनदेखि नियमानुुसार तोकिएको शुुल्क तिरेर मात्र ग्राहकले पासवर्ड र युुजर आइडी पाउने बताएको छ। तर कति शुल्क लाग्ने भन्ने बारेमा भने सूचना केहि उल्लेख गरिएको छैन् । नेप्सेका एक अधिकारीले शुल्क कति लिने भन्ने बिषय सरोकारवालासँग छलफल गरेर मात्र टुङ्याइने जानकारी दिए ।
साउनदेखि अनलाइन कारोबार गर्न लाग्ने शुुल्क बैंकहरुले लिने जतिकै अनलाइन शुुल्क लिनसक्ने आँकलन गरिएको छ । त्यस्तै नेप्सेले अनलाइन कारोबार प्रणालीमा आवद्ध हुुँदा लिमिट वा अग्रिम धितोका रुपमा २५ प्रतिशत रकम राख्नुुपर्ने प्रावधानमा थप कडाइ गरेको छ।
नेप्सेले मंगलबारदेखि कारोबार सुचारु गर्नका लागि सम्पूर्ण सदस्य दलाल, लगानीकर्तालगायत सबैलाई ९ बुँदे निर्देशन जारी गरेको छ।
यस्तो छ नेप्सेको निर्देशन
१. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने।
२. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समयमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने।
३. धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आइपिएस वा विद्युतीय माध्यममार्फत् गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आइपिएस वा विद्युतीय माध्यममार्फत् गर्न प्रोत्साहित गर्ने। तर २०७७ साउनदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने।
४. लगानीकर्ताले मेरो शेयरको खाता खोली सोही खाताबाट अनिवार्य इडिआइएसमार्फत् राफमाफ गर्ने व्यवस्था गर्ने। २०७७ असार मसान्तसम्म मेरो शेयरको नयाँ खाता खोल्दा कुने पनि शुल्क नलाग्ने। सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत् राफसाफको व्यवस्था गर्ने।
५. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने।
६. नेप्से परिसूचक २ प्रतिशतले घटी बा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।
७. २०७७ असार मसान्तसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकताहरुसँग पासवर्ड र युजर आइडी प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने । २०७७ साउनदेखि नियमानुसार तोकिएको शुल्क तिरेरमात्रै पासवर्ड र युजर आइडी लिन सक्ने व्यवस्था गर्ने।
८. सिडिएसको प्रणालीबाट आउने औसत मूल्यलाई धितोपत्र दलालले म्यानुअल इन्ट्री गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाइने।
९. लगानीकर्ताहरूको गुनासा समाधान गर्ने सम्बन्धमा सहायता कक्षको व्यवस्था गर्ने।










प्रतिक्रिया