
अनलाइन शेयर कारोबारको लागि हाल निशुल्क रुपमा लिन सकिने युजर आइडी र पासवर्ड लिनको लागि लगानीकर्ताले आगामी आर्थिक वर्षदेखि (साउन १ गतेपछि) भने शुल्क तिर्नुपर्ने भएको छ।
लकडाउनका बीच मंगलबारदेखि शेयर कारोबार गराउने तयारीमा रहेको नेप्सेले आइतबार सम्बन्धित सरोकारवाला (सम्पुर्ण सदस्य दलाल, लगानीकर्ताहरु) हरुका लागि जारी गरेको ९ बुँदे निणर्यको सातौं बुँदामा असारसम्म अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताले ब्रोकर मार्फत युजर आईडी निशुल्क प्राप्त गर्नसक्ने र साउनदेखि नियमअनुसार तोकिएको शुल्क तिरेर मात्र दिने उल्लेख छ।
यस्तै बुँदा नम्बर ४ मा लकडाउनमा भौतिक उपस्थिति बिना कारोबार सञ्चालनका लागि लगानीकर्ताले मेरो शेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा इडिआईएस मार्फत राफसाफ गर्ने र निक्षेप सदस्यको केन्द्रीय कार्यालयबाट राफसाफको व्यवस्था मिलाउने उल्लेखछ छ। असार मसान्तसम्म नयाँ मेरो शेयर खाता खोल्ने लगानीकर्ताले कुने शुल्क तिर्नुनपर्ने समेत उल्लेख गरिएको छ। यसअघि मेरो शेयरका लागि वार्षिक ५० रुपैयाँ शुल्क लाग्दै आएको थियो।
यसैगरि मंगलबारदेखि खुला हुने बजारमा धितोपत्र बिक्रीको भुक्तानी आईपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र रधितोपत्र खरीदको हकमा पनि आईपिएस वा विद्युतीय माध्यमलाई प्रोत्साहित गर्ने र २०७७ साउनदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै अनलाइन कारोबार खाता लिँदा धितोपत्र विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागु गरिने नेप्सेले जनाएको छ।
मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा बजार खुल्नेछ भने नेप्से २ प्रतिशत वा कुनैपनि धितोपत्रको प्रवृष्टिमा १ प्रतिशत र कारोबार समयमा २ प्रतिशत गरि दिनको ३ प्रतिशतभन्दा धेरै शेयरमूल्य परिवर्तन नहुने व्यवस्था गरिएको छ।
यस्तै नेप्सेले लगानीकर्ताहरूको गुनासा समाधान गर्न ब्रोकर कम्पनीहरुलाई सहायता कक्षको व्यवस्था गर्ने नेप्सेले निर्देशन पनि दिएको छ।
नेपाल धितोपत्र बोर्डले आइतबारदेखि (बैशाख २६ गते) कार्यालय खोली मंगलबारदेखि कारोबार सुचारु गराउन शुक्रबार निर्देशन दिएसँगै नेप्सेले नयाँ नियम र व्यवस्था अनुसार शेयर कारोबारको थालनी गर्ने भएको हो।










प्रतिक्रिया