रक्सी कम्पनीमा लकडाउन प्रभाव कम, ब्यापार घटे पनि बढ्यो नाफा

0
Shares

कोरोना संक्रमणका कारण चालु आवको तेस्रो त्रैमासको अन्तिम महिना चैतको ११ गतेबाट लकडाउन सुरु भएपछि अत्यावश्यक सेवा प्रवाह गर्ने बैंकिङ्ग सहितका बीमा कम्पनीहरु समेत प्रभावित बन्दा रक्सी कम्पनीमा भने त्यसको ज्यादै न्यून असर देखिएको छ।

मदिराजन्य उत्पादनहरु गर्ने हिमालयन डिष्टिलरी कम्पनी (HDL) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ब्यापार ५ करोड बढीले घटेपनि वस्तु बिक्रीको खर्चमा नियन्त्रण गर्दा खुद नाफा भने ३३.६३ प्रतिशतको बढोत्तरी भएको छ।

कम्पनीले चैत मसान्तसम्ममा ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ११ करोड रुपैयाँले नाफा बढाएको हो।

गत आवमा शतप्रतिशत लाभांशमध्ये ५० प्रतिशत बोनसबाट चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँ पुर्याएको कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ।

गत आवको यसै अवधिमा ११३.११ रुपैयाँ रहेको वार्षिक इपिएस १००.७६ रुपैयाँमा झरेको छ। यस्तै जगेडा कोष ८६ लाखले घटेर ६४ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २११.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७० गुणा छ।

चैत मसान्तसम्ममा कम्पनीले मदिरा बिक्री गरेर एक अर्ब ८१ करोड रुपैयाँ कमाएको छ। जुन गत आर्थिक वर्षको यसै अवधिमाको तुलनामा ५ करोड ९ लाख ९७ हजार कम हो।

यद्यपी कम्पनीको उत्पादन लागत र वस्तु बिक्री खर्च ८५ करोडबाट ७७ करोडमा झरेको छ भने अर्कोतर्फ ढुवानी र वितरण खर्च पनि २० करोड ८ लाख बाट घटेर ११ करोड १७ लाख रुपैयाँ मात्र खर्च गरेको छ। आम्दानी घटेपनि खर्च अझ धेरै घट्दा खुद नाफा भने बढोत्तरी भएको हो।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।