सामाजिक सुरक्षा कोषमा योगदान रकम १ अर्ब नाघ्यो, कोषबाट सुरक्षा लिनेहरु पनि बढ्दै

0
Shares

निजी क्षेत्रमा कार्यरत श्रमिकका लागि ल्याइएको सामाजिक सुरक्षा कोष योजनामा बैशाख २९ गतेसम्म १ अर्ब १ करोड १६ लाख रुपैयाँ रकम सञ्चित भएको छ। कूल १२ हजार ३४४ रोजगारदाता संस्थामा कार्यरत १ लाख ५७ हजार ७२३ श्रमिकबाट सो रकम संकलन भएको हो।

कोषमा संकलित १ अर्ब १ करोड रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा ९२ करोड, दुर्घटना तथा असक्तता सुरक्षा योजनामा ४ करोड ५५ लाख, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ३ करोड २५ लाख, र आश्रित परिवार सुरक्षा योजनामा ८७ लाख रुपैयाँ जम्मा भएको कोषले जनाएको छ ।

कोषमा मासिक रूपमा रोजगारदाताले श्रमिकको आधारभूत तलबको २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्नुपर्ने हुन्छ।

यस्तै हालसम्म कोषले १५३ जनालाई ओषधोपचार, स्वास्थ्य तथा मातृत्व दाबी भुक्तानी गरेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १५३ वटामा २६ लाख ४५ हजार रुपैयाँ बराबरको भुक्तानी गरिएको कोषले जनाएको छ।

कोषमा न्यूनतम ६ महीना योगदान गरेको श्रमिकले अस्पताल भर्ना भएर उपचार गर्दा अधिकतम लाखसम्म र घरमै बसेर उपचार गर्दा २५ हजारसम्म स्वास्थ्योपचार सुविधा पाउनेछन्।

यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा दाबी बापत १२ जनाले कोषबाट सेवा उपभोग गरेका छन् भने ६ जना योगदानकर्ता श्रमिकको मृत्यु भएपछि उनीहरुका आश्रित परिवारलाई पेन्सन वितरण सुरु भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना १२ वटा दुर्घटनाको दावीवापत एक लाख १७ हजार रुपियाँ र ६ परिवारका आश्रितलाई पाँच लाख ७७ हजार रुपियाँ भुक्तानी भैसकेको छ । थप चार जनाको परिवारलाई पनि वितरणको तयारी भइरहेको कोषले जनाएको छ।

यसैगरि कोषले वृद्धावस्था सुरक्षा योजना अन्तर्गत १२ जनालाई ३ लाख ९५ हजार रुपियाँ दाबी भुक्तानी गरेको छ।

सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको डेढ वर्ष भैसकेपनि सरकारी र निजी क्षेत्रका कामदारबीच राज्यले विभेद गरेको आरोप लगाउँदै ठूला व्यावसायीक प्रतिष्ठान, होटलका मजदुर र पछिल्लो समय बैंकरहरूले पनि संलग्न हुन आलटाल गरिरहेको छन्।

लकडाउन पश्चात सरकारले सामाजिक सुरक्षा कोषमा सहभागि भएका श्रमिकहरुको एक महिनाको योगदानको रकम राज्य कोषबाट हालिदिने निर्णय गरेको छ। यद्यपी कोषमा रहेका सरकारी र निजी क्षेत्रका श्रमिकबीचको विभेद नहटेसम्म कोषमा आकर्षण बढ्नसक्ने अवस्था भने देखिँदैन।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।