सातवटै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना

0
Shares

सरकारले सातवटै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवाको क्षमता अभिवृद्धिका लागि सबै प्रदेशमा प्रवर्तन केन्द्र स्थापना गर्ने जानकारी गराउनुभयो ।

सरकारले यसअघि प्रदेश नं १ र वाग्मती प्रदेशमा मात्र केन्द्र स्थापना गरेको छ । स्वास्थ्य सचेतना, सरसफाइ, विपद् व्यवस्थापन तथा वातावरण संरक्षण र सामाजिक कुरीति, अन्धविश्वासविरुद्धको सामाजिक जागरण कार्यमा स्काउट र युवा स्वयंसेवक परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्ने शुरुआती पूँजी उपलब्ध गराइने भएको छ ।

उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमसँग युवालाई आबद्ध गराइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा शिक्षित बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा प्रोजेक्टमा आधारित शुरुआती पूँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न प्रोजेक्ट निर्माणमा समेत सहयोग गरी उत्पे्ररित गरिने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसम्बन्धी अन्य कार्यक्रमसँग आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानका रुपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  ०७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।