सिन्धुपाल्चोककी मृतक सुत्केरीको पीसीआर रिपोर्ट पोजिटिभ, कोरोनाबाट निधन भए नभएको अनुसन्धान हुँदै

0
Shares

धुलिखेल अस्पतालमा जेठ १ गते बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको राष्ट्रिय जनस्वास्थ्य जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण नतिजा पनि पोजेटिभ आएको छ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मृतक महिलाको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पनि कोरोना संक्रमण देखिएको थियो। तर त्यसलाई पुनः पुष्टिका लागि स्वाब संकलन गरेर टेकु पठाइएको थियो।

कोरोना आशंकित सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल शिलबन्दी

पीसीआर पोजेटिभ आएपछि महिलाको मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पुष्टिका लागि मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल गएको छ। पोस्टमार्टमपछि मात्र महिलाको र्मत्युका कारण खुल्ने बताइएको छ।

यदि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएमा उनी कोरोना भाइरसले नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुनेछिन्।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाखमा सुत्केरी भएकी उनी २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर पुगेकी थिइन्। घर फर्किएपछि ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि स्थानीय अस्पतालमा पुगेकोमा थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि थप उपचारका लागि धुलिखेल अस्पताल आउँदै गर्दा उनको मृत्यु भएको पुष्टि गर्दै कोभिड १९ सँग सम्बन्धित परीक्षणहरू भैरहेको जानकारी दिए। प्रवक्ता देवकोटाले थप सबै परीक्षणपश्चात मृत्युको कारण निक्र्यौल गरेपछि मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गर्ने बताए।

यसअघि बुटवल र चितवनका विशेष अस्थायी अस्पतालमा भर्ना भएका बिरामीको पनि मृत्यु भएपनि उनीहरुको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थिएन।

नेपालमा माघ ९ गते पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएकोमा हालसम्म कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । ३६ जना भने निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।