
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ९५ हजार ९२९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।
त्यसमध्ये पीसीआर प्रविधिबाट २८ हजार १६० र आरडिटी प्रविधिबाट ६७ हजार ७६९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ३ हजार ४८९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट १ हजार ४६९ र आरडिटीबाट २ हजार २० वटा भएका हुन्। शनिबार ५ हजार बढी नमुना परिक्षण भएकोमा आइतबार पुन परीक्षण संख्या घटेको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार १८६, प्रदेश नं २ मा ६ हजार, वाग्मती प्रदेशमा ११ हजार २५७, गण्डकी प्रदेशमा ६ हजार ९३२, प्रदेश नं ५ मा ८ हजार ७५१, कर्णाली प्रदेशमा ७ हजार ३७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २७१ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- १८ हजार ३५७ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ३४६ जना
मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा १८ हजार ३५७ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ९४७ जना, प्रदेश नम्बर दुईमा २ हजार ६१३ जना, वाग्मती प्रदेशमा २२७ जना, गण्डकी प्रदेशमा ३६० जना, प्रदेश नम्बर पाँचमा ११ हजार ९४८ जना, कर्णालीमा ६३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६२८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ३४६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३५ र उपत्यकाबाहिर ३११ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये प्रदेश नं १ मा २४, प्रदेश नं २ मा १२२, वाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा १ जना, प्रदेश नं ५ मा ११७ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ८५० स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३९ हजार ५९८ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ६४१ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप १६ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।
यससँगै रेड जोनम पर्नेरुको संख्या ३८२ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
हालसम्म १ लाख ४ हजार ६९० जनाले मोबाइल एप डाउनलोड गरेका छन् भने १४ लाख ९१ हजार १९२ जनाले वेवसाइट भिजिट गरेका छन्।












प्रतिक्रिया