चालु खाता घाटा सुधारियो, शोधनान्तर स्थिति साढे ३६ अर्ब बचतमा

0
Shares

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना अर्थात चैतसम्ममा चालु खाता घाटा सुधार भई १ खर्ब ३५ अर्ब ५४ करोडमा झरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २ खर्ब ०४ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा गत आवको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ । चालु आवको चैतसम्ममा पूँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

चालु आवको चैतसम्ममा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति गत आवको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.७ प्रतिशत, ७८.८ प्रतिशत र २९.६ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

२०७६ चैत मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा स्थानीय तहको खातामा रहेको ६२ अर्ब ८६ करोड समेत गरि १ खर्ब ६२ अर्ब ३१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आइतबार  २० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।