नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि निष्काशन गरेको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८२ को बिक्री अवधि थप गरेको छ।
केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र यसअघि जेठ २५ गते निष्काशन गर्ने जनाएको थियो । तर जारी लकडाउनका कारण ऋणपत्रमा आवश्यक आवेदन नपरेपछि आगामी असार २१ गतेसम्म म्याद थप गरेको छ ।
उक्त ऋणपत्रको व्याजमा कर नलाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी छ/छ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ ।घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार २९ गतेका लागि तोकिएको छ ।
बैंकले २०८२ असार २९ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।










प्रतिक्रिया