लकडाउनको समयमा कुखुरादेखि साइकल चोरीमा संलग्न २० पक्राउ

0
Shares

बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

चोरी गरिएका साइकल काठमाडौँबाट ल्याएका हौँ भनी भीमदत्तनगर बजार क्षेत्रका मझगाँउ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चार जनालाई साइकलसहित पक्राउ गरिएको उनले बताए । उनका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की रहेका छन् । पक्राउ परेका चारै जना भीमदत्त नगरपालिका–१८ बागवाणीका बासिन्दा रहेका छन् ।

यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उनको भनाइ छ ।

चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबै जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन् ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।