कर्जा विस्तार रोकिँदा बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधि लयमा नफर्कँदा वित्तीय प्रणालीमा २ खर्ब बढी अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने लागेको हो।

केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो । गत साता मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो । सो रिभर्स रिपो समेत परिपक्क भएपछि वित्तीय प्रणालीको अधिक तरलता बढेर २ खर्ब भन्दा माथि पुगेको हो ।

यो समेत गरेर राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता तेस्रो पटक रिभर्स रिपो जारी गरेको हो । यसअघि राष्ट्र बैंकले २० अर्बका दरले दुई पटक रिभर्स रिपो जारी गरेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र गत साता निष्काशन गरेको रिभर्स रिपो समेत परिपक्क भएकाले पुनः प्रणालीबाट पैसा खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार २० अर्ब रिभर्स रिपो जारी गरेपछि करिब १८५ अर्ब रुपैयाँ बढी अधिक तरलता बजारमा अझै रहनेछ । अहिलेको अवस्थामा अन्तर बैंक ब्याजदर एक प्रतिशत भन्दा तल रहेको छ । खुला बजार कारोबार नीतिलाई अबलम्वन गर्दे रिभर्स रिपो जारी गर्न लागेको केन्द्रीय बैंकको भनाई छ ।

बजारमा अधिक तरलता हुँदा ब्याजदरमा अस्वभाविक उतार-चढाव आउने जोखिम हुन्छ । वित्तीय प्रणालीमा देखिएको उच्च तरलताले आगामी दिनमा बैंक वित्तीय संस्थाको ब्याजदर अझै घट्न सक्ने देखिन्छ ।

रिपोमा सहभागी हुन चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रिभर्स रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । ब्याजदर निर्धारण भने निक्षेप संकलन उपकरण मार्फत् बोलकबोल प्रक्रियाबाट हुनेछ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न लागेको हो । तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहिबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।