धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले आइतबार मात्रै एक खर्ब ५ अर्ब रुपैयाँ बराबरको नोक्सानी ब्यहोर्न परेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७५ अंक भन्दा धेरैले घटेपछि लगानीकर्ताको सम्पत्ति खर्ब भन्दा धेरैले घटेको हो ।
गत बिहीबार ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख रहेको कुल बजार पूँजीकरण आइतबार ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख रुपैयाँमा झरेको हो ।
कोरोना महामारीको दोस्रो लहर प्रभाव बढ्दै गएकाले पनि धितोपत्र बजार नकारात्मक भएको हो । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शेयर लगानीकर्ताको मानोबल पनि कमजोर बनेको हो । 
निरन्तर बढेको शेयर बजार सूचक हालसम्मकै उच्च २७३५ अंकमा पुगेको थियो । उक्त उच्च विन्दुपछि नेप्से सूचक निरन्तर ओरालो लागेको छ । यसभन्दा अघिका केही दिन ३० देखि ३५ अंकले घटेको नेप्से आइतबार ७५ अंकले घटेर २५७२.२२ अंकमा झरेको छ । कोरोनाको दोस्रो लहरको त्रास संगै नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जामा कडाई गर्ने संकेत देखिएपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको अनुमान गर्न थालिएको छ ।
नेप्से परिसूचक घटेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचिकृत शेयरहरुको कुल बजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङकन गर्न सकिन्छ ।
शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले अर्थतन्त्र, बजारको अवस्था, बैंकिङ क्षेत्रको ब्याजदर लगायतका विषयलाई विश्लेषण गरेजस्तै बजार पूँजीकरणको अवस्थालाई पनि हेर्नु पर्ने हुन्छ । तर, आइतबार नेप्सेमा आएको गिरावट र बजारको आकारमा देखिएको संकुचनले भर्खर मात्रै बजार प्रबेश गरेका लगानीकर्ता बाहिरीने जोखिम बढाएको छ । भार्खरै बजारमा प्रबेश गरेका लगानीकर्ता बाहिरीन हतार गरेको खण्डमा बजार सूचक झनै घट्ने जोखिम हुन्छ ।
पछिल्लो समयमा धितोपत्र बजार सूचक निरन्तर बढेपछि कुल बजार पूँजीकरण पनि ३७ खर्ब भन्दा पुगेको थियो । सो अवधिमा नेप्सेमा आएको सुधारले मात्र भन्दा पनि नयाँ कम्पनीहरुको प्रबेशले पनि कुल बजार पुँजीकरण बढाएको थियो ।
आइतबार बजार सूचक उच्च अंकले घटेसंगै कारोबार रकम पनि ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन बिहीबारको तुलनामा आइतबारको कारोबार रकम पनि करिब २ अर्ब रुपैयाँले धेरै हो । नेप्से सूचकमा उच्च अंकको गिरावट आउँदा कारोबार रकम बढ्नु भनेको बजार घट्ने जोखिम उच्च रहेको बुझाँउछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया