बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ ३१ गते बिहीबारसम्म बैंकहरुले तीन खर्ब ५२ अर्ब २९ करोड स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन् ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ भने यस अवधिमा बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् ।
राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब गरी ७० अर्ब रुपैयाँ बराबरको रिपोसमेत जारी गरिसकेको छ ।
कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका छन् । जसमा साधारण बचतको ब्याजदर नै ६ प्रतिशत माथि पुगेको छ भने मुद्दती बचतको ब्याजदर दोहोरो अंकमा पुगेको छ ।
तरलता अभावको गहिरिँदो अवस्थाका कारण बैंकहरुले आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ ।
कुन बैंकको ब्याजदर कति ?
बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्क अनुसार सनराइज बैंकले मुद्दती निक्षेपमा सबैभन्दा बढी १०.०७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.५० प्रतिशत छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ९.७५ प्रतिशत तथा मेगा बैंकले ९.५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् ।
त्यसैगरी एनएमबी बैंकले ९.५२, सानिमा बैंकले ९.५१, ग्लोबल आईएमई बैंकले ९.५० प्रतिशत, नबिलले ९.२६ प्रतिशत, एनसिसी बैंकले ९.२६ प्रतिशत, सेञ्चुरी बैंकले ९.२५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९.०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९.०२ प्रतिशत र लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन् ।
यसैगरी बैंक अफ काठमाण्डूले ८.७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ८.७६ प्रतिशत, माछापुच्छ«े बैंकले ८.७५ प्रतिशत, एभरेष्ट बैंकले ८.६१ प्रतिशत, एनआईसी एसिया बैकले ८.६० प्रतिशत, नेपाल एसबीआई बैंकले ८.५५ प्रतिशत, सिभिल बैंकले ८. ५५, कुमारी बैंकले ८.५१ प्रतिशत, कृषि विकास बैंकले ८.०५ प्रतिशत, प्रभु बैंकले ८.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०६ प्रतिशत, नेपाल बैंकले ८.०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।
बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४.२६ देखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् ।
सरकारी खर्च हुन नसकेर बैंकिङ्ग प्रणालीमा निक्षेप आउन नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको हो । यसले निक्षेप र कर्जा दुबैको ब्याजदर बढेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया