धितोपत्रको दोस्रो बजार अर्थात सेकेन्डरी मार्केट अनुमानमा चल्ने बजार हो । शेयर बजारमा एकातिर शेयर खरिदकर्ता शेयर खरीद गर्न आएका हुन्छन् भने अर्कोतिर बिक्रीकर्ता आएका हुन्छन् ।
बिक्री गर्नेले आफूसँग भएको शेयर महङ्गो मूल्यमा बिक्री गर्न चाहन्छ भने खरीद गर्नेले सस्तो मुल्यमा खरीद गर्न चाहन्छ । यसरी खरीद र बिक्रीकर्ताको जुन बिन्दुमा मिलन हुन्छ त्यहि कारोबार मूल्य हुन्छ । अर्थशास्त्रको सिद्धान्त बमोजिम कम्पनीको शेयरमूल्य बढ्नु वा घट्नुमा माग र आपूर्तिको भुमिका प्रमुख रहन्छ । माग उच्च भएमा मूल्य बढ्छ भने आपूर्ति बढी भएमा कम्पनीको मूल्य घट्छ ।

बजारमा जति कित्ता शेयर बिक्री हुन्छ, त्यति नै कित्ता शेयर खरिद हुन्छ । शेयर किन्ने मानिसले अब शेयरमूल्य बढ्छ भनेर अनुमानका आधारमा किन्छ भने बेच्ने मानिसले अब शेयरमूल्य घट्छ भन्ने अनुमानका आधारमा बेच्छ । यसरी खरीदकर्ताले आफुले खरीद गर्न चाहेको मूल्य र संख्या नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा आफैँ वा ब्रोकर कम्पनी मार्फत अर्डर गर्नसक्छ भने बिक्रीकर्ताले पनि आफैँ वा ब्रोकर मार्फत आफुसँग भएको शेयर बिक्री गर्नसक्छ । जुन मूल्यमा बिक्री गर्न चाहने र खरीद गर्न चाहनेको मिलन हुन्छ तब मात्र शेयर कारोबार सम्पन्न हुन्छ । अर्थात खरीद तथा बिक्री गर्ने व्यक्तिले भिन्नभिन्न मूल्यमा खरीद वा बिक्री अर्डर राखेको खण्डमा कारोबार हुँदैन ।
धितोपत्रको दोस्रो बजारलाई सूचनाको बजारको रुपमा पनि लिइन्छ । कम्पनीले गर्ने काम, भविष्यको योजना, कम्पनीमा संलग्न व्यक्ति, कम्पनीले दिएका सेवा, तत्कालीन अवस्थामा गरेका काम, वितरण गर्ने लाभांश, व्यवस्थापक आदी कारणबाट सम्बन्धीत कम्पनीको शेयर खरिद बिक्रीमा क्रममा मूल्यमा प्रभाव पार्न सक्दछ ।
अल्पकाल तथा अन्तर दिन कारोबारमा प्राप्त सूचना तथा आफ्नो अनुमानमा शेयरको मूल्य बढ्छ भन्ने लाग्यो भने शेयर किन्छ । घट्छ भन्ने लाग्यो भने बेच्छ । दीर्घकालीन रुपमा भने देशको अवस्था, राजैतिक अवस्था, राज्यले लिने नीति आदीले शेयर बजारलाई प्रभाव पार्छ । देशको आर्थिक अवस्था, सरकारले लिएको नीति, पूँजी बजारमा भएको विकास र सम्बन्धीत कम्पनीको कारोबार र नाफाले शेयर मार्केटलाई प्रभाव पार्न सक्छ । ब्याजदर, तरलताको अवस्था, शेयरको आपूर्तिजस्ता कारणले पनि पूँजी बजारको मार्ग निर्देश गर्ने गर्दछ ।
शेयर खरीद गर्नेले अब धितोपत्रको मूल्य बढ्छ भन्ने लागेपछि मात्र शेयर खरिद गर्छ । बजार वा कम्पनीको मूल्य थप घट्नसक्छ भन्ने लागेमा सो व्यक्तिले शेयर खरीद गर्देन । बिक्रेताले पनि सोही अनुरुप धितोपत्रको मूल्य घट्छ भन्ने लागेमा मात्र शेयर बिक्री गर्न सक्छ वा आफ्नो कुनै आर्थिक आवश्यकता टार्नका लागि पनि बिक्री गर्न सक्छ । आर्थिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने खण्डमा बाहेकमा मूल्य बढ्ने लागेमा शेयर बिक्री नगर्न सक्ने सम्भावना रहन्छ ।
दोस्रो बजारमा शेयरको खरिदकर्ताको मुख्य उद्देश्य बजारमा लगानी गरेर नाफा कमाउने तथा पूँजीगत लाभ लिने उदेश्य हुन्छ । शेयर खरिद गर्ने व्यक्तिले अल्पकालीन वा दीर्घकालीन रुपमा शेयरमा लगानी गर्ने उद्देश्य राखेको हुन सक्छ । अल्पकालीन लगानीकर्ताले एउटा निश्चित नाफा आएपछि शेयर बिक्री गर्दछ भने दीर्घकालीन लगानीकर्ताले सम्बन्धीत कम्पनीले वितरण गर्ने प्रतिफल (बोनस तथा नगद) का लागि पनि शेयर होल्ड गर्ने गर्दछ ।
अर्कोतिर शेयर बिक्रेताको उद्देश्य आफूसँग भएको शेयर बिक्री गरेर आफ्नो आर्थिक समस्या (गर्जो टार्ने) हुन्छ । यस्तै बजारमा बिक्रेताले बजारभाउ घट्ने संकेत पाएर नाफालाई सुरक्षित गर्न पनि शेयर बिक्री गर्न सक्छ ।
सामान्यतयाः एक वर्षभन्दा कम समयावधिमा गरिने शेयरको कारोबारलाई छोटो समयावधिको कारोबार भनिन्छ भने एक वर्षभन्दा लामो समयावधिको अन्तरालमा गरिने कारोबारलाई दीर्घकालीन प्रकृतिको कारोबार भनिन्छ ।
धितोपत्र व्यवसायमा कारोबार गर्ने व्यक्ति तथा कम्पनी जो पनि संलग्न हुनसक्छ । कानुनी व्यक्तिको रुपमा संस्थागत रुपमा समेत शेयर खरीद गर्न सकिन्छ । नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ता कम नै छन् ।
पछिल्लो समय नागरिक स्टक डिलर स्थापना भएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सामुहिक लगानी कोष र धितोपत्र बजारमा लगानी गर्ने उदेश्यका साथ स्थापना भएका कम्पनीहरुले पनि संस्थागत लगानीकर्ताको रुपमा शेयर बजारमा लगानी गरिरहेको अवस्था छ । नेपालको शेयर बजारको आयतन तथा गहिराई कमजोर रहेकाले दीर्घकालीन लगानीकर्ता पनि कम नै छन् । दीर्घकालीन रुपमा शेयर लगानी गर्ने प्रवृत्ति निकै कम छ भने अल्पकालीन लगानीकर्ताको बजारमा हाबी उच्च छ । योजनाबद्ध तथा दीर्घकालीन लगानी गर्नेभन्दा पनि बजारमा तत्काल कारोबार गरेर मुनाफा लिने किसिमले लगानी गरेको देखिन्छ । नेपालका लगानीकर्ताहरुले लगानी व्यवस्थापनका लागि पोर्टफोलियो म्यानेजमेन्ट गर्ने कम्पनीहरु स्थापना भएपनि अझैपनि पोर्टफोलियो म्यानेजमेन्ट लगानी गर्ने गराउने चलन भने निकै कम देखिन्छ ।
संसारका धेरै ठाउँमा वस्तुविनिमय, फ्युचर्स तथा अप्सनको कारोबार समेत विकाससित भैसकेको पाइन्छ । सम्झौताको आधारमा पनि दोस्रो बजारमा भविष्यमा सम्झौताको हस्तान्तरण हुने गरी कारोबार पनि गरिन्छ । यस्ता कारोबारलाई फ्युचर्स तथा अप्सनको कारोबार भनिन्छ ।
नेपालमा भने नीतिगत स्थीरता नहुनु तथा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि कम हुनुले यस खालको कारोबारको विकास हुन सकेको छैन । कोभिड असरले अर्थतन्त्रका अन्य क्षेत्र खुम्चिएर शेयर बजारमा लगानी केन्द्रित हुँदा पछिल्लो समय शेयर बजार बुलिस प्रवृत्तिमा पुगेपछि भने दोस्रो बजारका लगानीकर्ताको संख्या २ लाखबाट बढेर करिब दश लाखको संख्यामा पुगेको छ । तर नियमित कारोबारीको संख्या भने अझैपनि न्यून छ ।
जोखिम न्यूनीकरण कसरी गर्ने ?
भनिन्छ, ‘सबै अण्डा एउटै बास्केटमा राख्न हुँदैन । डन्ट पुट अल एग्स इन वन बास्केट ।’ लगानीको सुरक्षाका लागि पोर्टफोलियो मिलाउनुपर्छ । विविध क्षेत्रमा लगानी गर्नुपर्छ । धेरै पैसा हुनेले पनि एकै ठाउँमा सबै लगानी गर्दैनन् ।
आफुले गर्ने लगानीमध्ये केही उद्योग व्यापार, केही सुन–चाँदी, केही घर–जग्गामा लगानी गर्छन् भने केही पूँजी शेयर बजारमा लगानी गर्छन् । त्यसैले साना लगानीकर्ताहरुले पनि आफ्नो पूँजीअनुसार लगानी विविधीकरण गर्नुपर्छ ।
थोरै पूँजी छ भने पनि एउटै कम्पनीको शेयरमा लगानी गर्नुहुँदैन । लगानी विवधिकरण गरेको खण्डमा एउटा क्षेत्रको कम्पनीको शेयरमूल्य घटिरहेको बेला अर्को क्षेत्रको कम्पनीको मूल्य बढिरहेको हुन्छ । कुनै बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्ने, कुनै इन्स्योरेन्स, कसने लघुवित्त, कुनै उत्पादनमुलक, कुनै हाइड्रो लगायतको क्षेत्रका राम्रा कम्पनीमा लगानी गनुपर्छ ।
शेयरको सिजन
नेपालको शेयर बजारका आधारमा हरेक कम्पनीले आर्थिक वर्षको समाप्तीपछि वित्तीय विवरण प्रकाशन गर्नुपर्छ । यसअनुसार हरेक कम्पनीले एक महिना भित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्छ । ६ महिनाभित्र भने साधारण सभा सम्पन्न गरिसक्नुपर्छ ।
हरेक कम्पनीले ३/३ महिनामा वित्तीय विवरण प्रकाशन गर्छन् ।कुनैपनि कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशनपछि सो कम्पनीले चालु आवमा कमाउने नाफाको अनुमानका आधारमा लगानी गर्ने चलन देखिन्छ । बजारमा बैशाखदेखि असोजसम्मको समयलाई सिजनकै रुपमा हेरिन्छ ।
आव समाप्तीपछि साउन भदौमा अघिल्लो आवको वित्तीय विवरण प्रकाशन हुन्छ । यसले कुन कम्पनीको प्रगति कस्तो भयो भन्ने थाहा हुन्छ । कम्पनीको प्रगति अनुसार लगानीकर्ताले प्रतिफल पाउने गर्दछन् ।
त्यसैले कम्पनीले राम्रो गरेको भए लगानीकर्ता पनि उत्साहित हुन्छन् । कम्पनी घाटामा छ भने लगानीकर्ता पनि हतोत्साही हुन्छन् । कम्पनी फाइदामा गएको देखियो भने धितोपत्रको मूल्य पनि बढ्न सक्छ भने कम्पनी घाटामा छ भने धितो पत्रको मूल्य पनि घट्न सक्छ ।
वर्षभरि गरेको लगानीको फल अर्थात प्रतिफल लिने समय साउनदेखि पुस महिनासम्म हो । त्यसैले साउनदेखि पुस महिनासम्म शेयर कारोबारको अन्य समयको भन्दा थप चहलपहल हुन्छ ।
सामान्यतया आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्थाका कारण राम्रो कम्पनीहरुले पुससम्म लाभांश पनि बाँडिसकेको हुन्छ । अर्को लाभांशका लागि फेरि वर्ष पर्खनुपर्ने भएकाले लाभांश प्राप्त गर्ने हिसाबले अन्य महिनामा बजार सुस्त हुन्छ । तर पनि अन्य सूचना र कम्पनीको अवस्थाका आधारमा भने कुनै पनि कम्पनीको मूल्य घटबढ भने भैरहेको हुन्छ ।
राफसाफ टि प्लस टू
नेपालमा आज किनेको शेयर ठीक दुई दिनपछि (डेलिभरी) पाउन सकिन्छ । नेपालमा शेयर कारोबारको राफसाफको चक्रलाई पछिल्लो समय टि प्लस थ्री बाट घटाएर टू कायम गरिएको छ । ठीक तेस्रो दिनमा बिक्री गरिएको रकम पाइन्छ । अगाडि पछाडि हुँदैन । ‘टि’ को अर्थ ‘ट्रान्जेक्सन डे’ हो भने ‘प्लस टू’ भन्नले ‘दुई दिनमा’ भन्ने अर्थ हुन्छ ।
दुई दिनमा शेयरको कारोबार रकम राफसाफ हुन्छ । आज कारोबार गरेको शेयर दुई दिनमा राफसाफ भई तेस्रो दिनमा बेच्नेले पैसा पाउँछ । किन्नेले शेयर पाउँछ । यो प्रणाली ‘माई वर्ड इज माइ बन्ड (बाध्यता)’ अर्थात् बोलेपछि सकियो भन्ने सिद्धान्तबाट चलेको हुन्छ ।
किनेको शेयर किन्नेले तोकेको निश्चित दिनमा प्राप्त गर्नुपर्ने हुन्छ भने बेच्नेले पनि तोकेको दिनमा सेयर किन्ने व्यक्तिलाई उपलब्ध गराउनुपर्छ । दिन्न भन्न पाइँदैन । शर्तमा सम्झौता हुँदैन । नेपालमा यो प्रणाली अभ्यासमा छ ।
टि प्लस टू को प्रणालीअनुसार आफूले किनेको शेयर किनेको तेस्रो दिनमा बिक्री गर्न सकिन्छ । मुनाफाको प्रकृति हेरेर तथा कारोबारको आवश्यकता हेरेर छोटा कारोबारीले तेस्रो दिन वा त्योभन्दा पछि शेयरको कारोबार गर्न सक्छन् ।
शेयरको भविष्य
नेपालको शेयर बजार विस्तारै गतिशील हुँदै गइरहेकाले यसको भविष्य निकै नै राम्रो देखिन्छ । यहाँ बालिग मात्र होइन अभिभावक संरक्षक भएर बालबालिकाको नाममा समेत लगानी गर्न सकिन्छ ।
प्रविधिको विकासले पछिल्लो समय शेयर कारोबार औलामा सीमित भैसकेको छ । शेयर खरीद गर्न वा शेयर कारोबारको भुक्तानी लिन वा दिन ब्रोकर कार्यालय पुग्नुपर्ने अवस्था छैन । अनलाईन कारोबार प्रणाली र मोबाइल तथा इन्टरनेटको सहयताले सबै काम घरबाटै गर्न सकिन्छ ।
यो बजारमा विद्यार्थी, गृहिणी, शिक्षक, जो कोहीले सानो पूँजीबाटै प्रवेश गर्न सकिने र आफुसँग भएको रकम दीर्घकालीन रुपमा लगानी गर्न सक्छन् ।
सीमित ठाउँमा हुने शेयर बजारको दायरा विस्तारै बढ्दो छ । विस्तारै थप प्रगति हुन्छ । कानुनी सुधार हुँदैछ । ग्रामीण भेगमा पनि खरिद–बिक्रीका लागि पहुँच पुग्ने क्रम बढ्दो छ । गाउँगाउँसम्म कारोबार पुगेकोले पनि यसको भविष्य अझ राम्रो देखिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया