भदौका लागि ५ वाणिज्य बैंकले घटाए ब्याजदर


काठमाडौँ । भदौका लागि ५ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । जसमध्ये ५ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने अन्यले साउनकै व्याजदरलाई निरन्तरता दिएका छन् ।

भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतविन्दुबाट ०.०३१५ प्रतिशतविन्दु घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ।

भदौ महिनाका लागि सिद्धार्थ बैंकले सबैभन्दा बढी व्याजदर कटौती गरेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ ।

यस्तै नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु र संस्थागतमा ०.५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ । सिटिजन्स बैंकले व्यक्तिगत दर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन् ।

नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर दिएकाे छ। जुन अन्य बैंकहरुको तुलनामा उच्च हो ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।