
सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट ९एमसिसी० अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम छ ।
एमसिसी सम्झौताको पक्ष विपक्षमा सांसदका तर्क
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले पक्ष विपक्षमा तर्क प्रस्तुत गरको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्तावमाथिको छलफलमा नेपाली कांगेसका सांसद डा. मीनेन्द्र रिजालले एमसिसी सम्झौता हालसम्म ५३ देशमा लागू भएको वा हुने क्रममा रहेको जानकारी गराउँदै, हामी यहाँ नेपालमा मात्रै यो सम्झौता लागू हुन लागेको जस्तै गरी बहस गरिरहेका छौँ भने ।
उनले कांग्रेस र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले लचकता देखाएर सबैको सहमति जुटाउने प्रयास गरेकामा प्रशंसा गर्दै अमेरिका मात्रै होइन अन्य छिमेकी मुलुकबाट पनि सहयोग लिएर देश विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले एमसिसी परियोजना विशुद्ध विकासका लागि आएको भए कुनै विरोध नहुने उल्लेख गर्दै केही प्रावधान मुलुकको कानूनसँग मेल नखाने खालको भएको बताए ।
उनले यो सम्झौता यथास्थितिमा पारित गर्न नहुने भन्दै परिमार्जन गरेर राष्ट्रिय सहमतिका आधारमा मात्र पारित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) का सांसद निरादेवी जैरुले व्याख्यात्मक घोषणाभन्दा पनि नेपालीको शिर निहुरिन नदिने गरी यो सम्झौता अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन् । नेकपा (माओवादी केन्द्र) का सांसद अन्जना विशंखेले एमसिसी सम्झौता मुलुकका राष्ट्रिय कानूनभन्दा माथि रहेको दाबी गरिन् ।
नेकपा (एमाले) का सांसद हृदयेश त्रिपाठीले एमसिसी सम्झौता विकास परियोजना भएको बताउँदै यो अनुदान सहयोग भएको र हालसम्म यस्ता धेरै परियोजना लागु भइसकेको बताए । यो सम्झौता पारित नभए अन्तर्राष्ट्रिय प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न सक्ने बताउँदै उनले विकास आयोजनामा देखिने बाधा र समस्याका कारण सर्त राखेको हुन सक्ने धारणा व्यक्त गरे । उनले सम्झौताअनुसार प्रसारण लाइन र सडक स्तरोन्नतिका काम भएकाले यो मुलुकको हितमा छ भने।
जनता समाजवादी पार्टी (जसपा) का रेनुका गुरुङले एमसिसी परियोजनाले नेपाल र नेपाली जनताको स्वाभिमानमाथि प्रश्न उठेको हुनाले सबै दलबीच सहमति जुटाएर मात्र अनुमोदन गर्नुपर्ने बताए । जसपा नेपालकै प्रमोद साहले एमसिसी सम्झौता सबै पार्टीलाई चाहिएको हुनाले विरोधको नाममा विरोध नगरी राष्ट्रिय सहमति र समझदारीका आधारमा अगाडि बढाउनुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले थुप्रै सन्देहपूर्ण विषय आएकाले त्यसको सम्बोधन गर्न स्पष्ट पार्नुपर्ने बताए ।
प्रतिनिधिसभाको दोस्रो बैठक शुरु
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिससी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन् ।
बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो । दाेस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम सुरू भैसकेकाे छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया