आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

0
Shares

आइएमई समुहको सेयर बजार कब्जा गर्ने रणनीतिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मौन स्वीकृति दिएको छ । समुहले नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनीसँग नै सहकार्य गरेर काम गर्दा पनि नेप्सेले नदेखे झैं गरेको हो ।

समुहले वाइकोसँग मिलेर विभिन्न कम्पनी खडा गरी कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र ब्रोकर ब्याक अफिसलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

फागुन ३० गते सोमबार टीएमएस र ब्रोकर ब्याक अफिस इन्ट्रिग्रेसन गर्ने क्रममा सेयर कारोबार नै अबरुद्ध भयो । त्यस सम्बन्धमा धितोपत्र बोर्डले ५ कार्यदिनको अवधि दिई के कारणले कारोबार रोकिएको हो र आगामी दिनमा यस्तो नहुनका लागि के गर्नुपर्छ भन्ने सन्दर्भमा अध्ययन गरेर प्रतिवेदन पठाउन निर्देशन दियो । सो निर्देशन पाएको नेप्सेले आफ्नो अनलाइन करोबार प्रणालीको भेण्डर कम्पनी टीएमएसको पूर्ण सञ्चालन जिम्मेवारी भएको र आइएमई समुहसँग सहकार्य गरेको वाइको प्रालिलाई पत्र लेख्यो ।

वाइकोले आइएमइ समुहको बचाउ गर्दै सामान्य प्राविधिक समस्याका कारण सो दिन धितोपत्र किनबेचमा अवरोध आएको जवाफ नेप्सेलाई दियो । नेप्सेले सेयर किनबेच नै गर्न नसकिने अवस्था आएको विषयलाई गम्भिर रुपमा लिएर विज्ञसहितको टोली बनाएर विस्तृत अध्ययन गर्नुपर्नेमा वाइकोले नै पठाएको जवाफलाई धितोपत्र बोर्डमा पठाउने तयारी गरेको हो ।

वाइको प्रालि नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी हो । हाल धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको टीएमएस नेप्सेकै अनलाइन कारोबार प्रणालीको एउटा हिस्सा हो । उक्त टीएमएस सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको वाइको प्रालिले पछिल्लो समयमा ग्लोबल आइएमई समुहसँग मिलेर वाइको सोलुसन कम्पनीको स्थापना गरेर काम गर्न थालेको छ । वाइकोसँग नेप्सेको अनलाइन कारोबार प्रणाली मर्मत सम्भार देखि टीएमएस सञ्चालनको पूर्ण जिम्मेवारी छ ।

वाइको सोलुसनमा वाइको प्रालि र इ-सेयर सोलुसनको लगानी रहेको छ । इ-सेयर सोलुसनमा आइएमई समुह, वाइको प्रालिका प्रमूख कार्यकारी अधिकृत तथा लगानीकर्ता दिपेश प्रधान र सीडीएस एण्ड क्लियरीङका पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कम्पनी हो । यसरीे जटिल खालको कम्पनी संयन्त्रण बनाएर आइएमइ समुह, वाइको प्रालि तथा देवप्रकाश गुप्ताले धितोपत्र बजारका सबै प्रविधिक पुर्वाधारमा पहुँच राखेको सन्दर्भमा समेत नेप्सेले चासो देखाएको छैन ।

हाल धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको कारोबार व्यवस्थापन प्रणाली नेप्सेको अनलाइन प्रणालीको एक अंश हो अर्थात नेप्सेकै सम्पत्ति हो । सो टीएमएसमा कुनै पनि सफ्टवयर इन्ट्रिग्रेसन गर्दा नेप्सेको अनुमति लिनुपर्नेमा वाइको तथा आइएमई समुह अन्तर्गतका कम्पनीहरुले त्यसो नगरेको नेप्सेका एक अधिकारीले बताए ।

“आइएमई समुह र वाइकोले गम्भिर खालको अपराध गरेको देखिन्छ” उनले भने, “धितोपत्र दलाल कम्पनी तथा ग्राहकको अनुरोध भएपनि सफ्टवयर चलाउने भएपनि नेप्सेसँग अनुमति लिनुपर्ने हुन्छ ।” सोमबारको कारोबार नै अरुद्ध हुनुमा टीएमएस र ब्रोकर ब्याक अफिस (बोस) लाई इन्ट्रिग्रेसन गर्ने प्रयास नै मुख्य रहेको उनको भनाइ छ ।

वाइको तथा आइएमइ समुहले सहकार्य गरेको हुनाले उनीहरुले लाइभ मै टिएमएस र बोसको इन्ट्रिग्रेसनको प्रयास गरेको उनको बुझाइ छ । यस्तो डाटा इन्ट्रिग्रेट गर्दा समस्या आएको खण्डमा त्यसलाई छुटाउन पनि समय लाग्छ । त्यसकारण पनि कारोबार नै रोक्नु परेको अवस्था आइलागेको सम्भावना उच्च छ । हार्डवेयर, एप्लिकेसन तथा सञ्चालन समस्याका कारण कारोबार नै नहुने अवस्था आउने उनको भनाइ छ ।

भेण्डर कम्पनी वाइकोले अनलाइन कारोबार प्रणालीको सोर्स कोर्ड नेप्सेलाई दिएको भएपनि टिएमएसको सोर्स कोड वाइकोसँग नै छ । टीएमएसको सम्पुर्ण सञ्चालन वाइकोले गर्दै आएको छ । नेप्सेको कारोबार प्रणाली नै वाइकोको हातमा भएर पनि धितोपत्र बजारमा सक्रिय व्यवसायिक घरानासँग वाइको प्रालिले सहकार्य गरेर नेप्सेको सम्पत्ति तथा बजारका तथ्याङ्कको गोपनियतामा आँच पुर्‍याउने काम गरेको देखिन्छ । यसमा धितोपत्र बोर्डले नै विस्तृत अध्ययन गर्न आवश्यक देखिन्छ ।

सम्बन्धित थप शीर्षकहरु:

 

चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।