
बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या आगामी आर्थिक वर्षको सुरुवातसम्म पनि समाधान नहुने बैंकरहरुले बताएका छन् । बैंक वित्तीय संस्थाले तत्कालका लागि स्रोत व्यवस्थापन गर्ने अवस्था नभएकाले तरलता अभावको समस्या सहज हुने अझै केही महिना लाग्ने बताएका हुन् ।
नेपाल अर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका पमुख कार्यकारी अधिकृत सुनिल केसीले अहिले कै अवस्थामा कर्जा लगानी गर्नका लागि आवश्यक स्रोत संकलन गर्न सकिने अवस्था नरहेको बताए । “पछिल्लो ९ महिनाको तथ्याङ्क हेर्दा १२ प्रतिशतको कर्जा वृद्धि छ भने निक्षेप वृद्धि जम्मा ४ प्रतिशतमा रहेको छ,” केसीले भने, “नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राखेको १९ प्रतिशतको कर्जा कर्जा वृद्धिको लक्ष्य हाँसिल गर्न पनि चुनौतिपूर्ण रहेको अवस्था छ ।”
चालु आर्थिक वर्षको सुरुवातमा सरकरकारसँग २ खर्ब थियो । यो आर्थिक वर्षको चैतसम्ममा करिब १ खर्ब ३५ अर्ब थपिएको छ । सरकारले चालु आर्थिक वर्षको बाँकी रहेको समयमा ४ खर्ब रुपैयाँ खर्च गर्ने र बाँकी रहेको अन्तरिक ऋण उठाउने हो भने पनि तरलता अवस्था सहज हुने अवस्था नभएको केसीले बताए ।
चालु खाता घाटा निरन्तर कायम नै रहेको हुनाले मासिक ६० देखि ७० अर्बको आयात र करिब २० अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको अवस्थामा रेमिट्यान्स मासिक ९० अर्ब आएको अवस्थामा पनि मासिक करिब ५० देखि ६० अर्बको ग्याप कायम नै हुने उनले बताए । त्यसले गर्दा पनि आगामी केही महिना तरलता समस्या सहज नहुने उनको भनाई छ ।
वार्षिक १५ प्रतिशतको कर्जा वृद्धि गर्नका लागि ४ खर्ब ५० अर्बको स्रोत चाहिने बताउँदै उनले भने, “वाणिज्य बैंकहरुले हालसम्म करिब १ खर्ब ६० अर्ब निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब कर्जा लगानी गरेको अवस्था छ ।” नेपाली बैंकिङ क्षेत्रको निक्षेपको स्रोत भनेको सरकारी संस्थान, व्यक्तिगत निक्षेप मात्र हो । केही वर्ष अघिदेखि विदेशी मुद्रामा निक्षेप ल्याउने व्यवस्था गरिएको भएपनि त्यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन । रेमिट्यान्समा आएको कमीमा सुधार गर्नका लागि बैंकहरुले भन्दा पनि सरकार तथा नियामक निकायबाट संरचनात्मक सुधारका लागि उपयुक्त कदम चालिनुपर्ने उनले बताए ।

विदेशी लगानी ल्याउनका लागि देशको रेटिङ्ग भएको छैन । नेपालमा लगानी ल्याउने लगानीकर्ताले जोखिमको विश्लेषण गर्ने आधार नभएकाले पनि समस्या आएको बताउँदै उनले भने, “हेजिङको सन्दर्भमा समेत अझैसम्म पनि ठोस काम हुन सकेको छैन ।”
पछिल्लो समयमा उच्च आयात नियान्त्रण गर्नका लागि बैंकरहरु एक ठाउँमा आएको भएपनि त्यसले आयातमा क्रमस कमी भएको देखिन्छ तर तरलता अभावमा कुनै पनि मद्दत पुगेन । यसरी हेर्दा बैंकिङ क्षेत्रको तरलता अभावको समस्या अझै केही महिना सम्बोधन हुने सम्भावना नभएको उनले बताए । बैंकहरुको कुल लगानीको ५० प्रतिशत उत्पादन मुलक क्षेत्रमा रहेको बताउँदै उनले भने, “राष्ट्र बैंकले भनेको निर्देशित कर्जामा लगानी गरेका छौं त्यो पनि आधार दरमा २ प्रतिशत मात्र थपेर, यो व्यवस्था गर्नु उपयुक्त थियो ?”
कार्यक्रममा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन कुमार दाहालले पछिल्लो आर्थिक गतिविधिलाई हेर्दा बैंकिङ प्रणालीको समस्या अझै केही महिना कायम रहने बताए । अहिले पनि बैंकहरुको कर्जा निक्षेप अनुपात ९१ प्रतिशत भन्दा माथि रहेको बताउँदै दाहालले भने, “बैंकहरुले अहिलेको अवस्थामा सुधार हुनका लागि कि निक्षेप थपिनु पर्छ कि कर्जा घटाउनु पर्छ ।”
हाल बैंकहले बैकदर (७ प्रतिशत) भन्दा माथि गएर अन्तर बैंक कारोबार गरिरहेका छन् । अन्तर बैंक कारोबारका लागि पनि दिने भन्दा लिने बढी भएपछि नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सापट लिँदै आएका छन् । हाल बैंकहरुले बैंकदरमा दैनिक ५७ अर्बसम्मको स्थायी तरलता सापट लिँदै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया