
चार दशक यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले औसत ब्याजदर बढाउने नीति अघि सारेको छ । जस अनुरुप मे ३–४ सम्म बसेको नीतिगत बैठक पछि फेडले औसत ब्याजदर ०.५ प्रतिशतले बढाएको छ । फेडले एक पटकमा ०.५ प्रतिशत बढाएको यो ब्याज दर २० वर्ष यताकै उच्च रहेको छ ।
फेडको यस कदमले मध्यमवर्गीय अमेरिकी घरपरिवारमा असर पर्न जाने फेडका प्रमुख जेरोम पावेलले बताएका छन् । बैठकपछिको पत्रकार सम्मेलनमा उनी भन्छन्, “यदि तपाईँ मध्यमवर्गीय परिवारको सदस्य हो भने सम्भावयतः तपाईंसँग धेरै खर्च गर्ने रकम हुँदैन । फेडको यो नीतिले तपाईँको खर्चमा कटौती गर्नेछ । त्यसैले हामीले बुझेका छौँ कि यस नीतिले मध्यम तथा निम्नवर्गीय परिवारमा समस्या उत्पन्न गर्छ ।
फेडरल रिर्जभले अघि सारेको यो नीतिले उपभोक्ता खर्चमा कटौती हुनुका साथै साना तथा घरेलु उद्योगमा गरिने लगानीमा पनि कटौती हुने छ । यस निर्णयले अमेरिकी अर्थतन्त्रलाई नै सुस्ताउने छ । यसै सन्दर्भमा अमेरिकी अर्थतन्त्र बलियो भएको र आउँदो समयमा हुने औसत ब्याज दर वृद्धिलाई आत्मसात् गरी अघि बढ्न सक्ने भएको पावेलले बताएका छन् । फेडरल रिजर्भ आगामी जुनमा बस्ने बैठकपछि पनि औसत ब्याजदर बढाउन तयार भएको उनले बताएका छन् ।
यस निर्णयले केही समयको लागि अमेरिकी अर्थतन्त्रलाई सुस्त बनाएपनि दीर्घकालीन रुपमा यसले मुद्रास्फीति दर घटाउने र मूल्यमा स्थीरता कायम गर्ने पावेलले बताएका छन् ।
यसैगरी फेडले कोभिडको समयमा ९ ट्रिलियन पुगेको वासलात घटाउने तयारी अघि सारेको छ । जुन महिनामा ४७.५ बिलियन र सेम्टेम्बरको महिना देखि मासिक ९५ बिलियन कटौती गर्ने नीति फेडले अघि बढाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया