समिति गठन भएर हस्ताक्षर भएपछि मात्र अनशन तोडिने लगानीकर्ताको शर्त

0
Shares


पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताहरुले पुँजी बजारका समस्या समाधानका लागि समिति गठन भएर हस्ताक्षर भएपछि मात्र अनशन तोडिने प्रष्ट पारेका छन् ।

पुँजी बजार संघर्ष समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै पुँजी बजारका समस्या समाधानका लागि पहिले समिति गठन भएर मागहरुका बारेमा बुँदागत रुपमा समय सीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र अनशन तोडिने स्पष्ट पारेको हो ।

संघर्ष समितिले नेपाल धितोपत्र बोर्ड बाट असार ८ गते प्रेषित पत्र द्वारा एकीकृत १९ बुंदे मांग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भनेर उल्लेख भएकोमा आन्दोलन र आमरण अनशन अन्त्य गरे पश्चात भनी राखिएको शर्त अमान्य भएको बताएको छ ।

समस्या समाधान समितिमा कस कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्र भित्रको कुरा भएकाले त्यहाँबाट शर्त हटाई सुधारिएको दोस्रो पत्र प्राप्त भएपश्चात मात्र संघर्ष समितिबाट सात जनाको नाम पठाइने जनाएको छ ।

पुँजी बजारको अहिलेको संवेदनशिलता, जटिलता, विग्रदो अवस्था र अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोडेर आम लगानीकताहरुको मनोभावना सुदृढ बनाउन संघर्ष समितिद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुँजी बजार सुधारको माग राख्दै गत असार १ गतेदेखि संघर्ष समितिका संयोजक तिलक कोइराला आमरण अनशनमा बसेका छन ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।