वर्तमान सरकार गठन भएपछि एक वर्ष अवधिमा बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म उल्लेख्य प्रगति भएको छ ।
लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यात लगायत एक वर्षको अवधिमा सरकारले ऊर्जा क्षेत्रमा देखिने र अनुभव गर्ने गरी कार्य गरेको छ । त्यसले नेपालको अर्थतन्त्रको विकासमा दीर्घकालीन प्रभाव पर्नेछ ।
सरकारको निरन्तर सक्रियताका कारण वर्षायाममा खेर जाने बिजुलीको निर्यात सुरु भएको छ । यसले नेपालको ऊर्जा क्षेत्रको विकासमा नयाँ क्षितिज उघ्रेको छ । यसबाट निजी क्षेत्र उत्साहित भएको छ ।
गत जेठ १९ गतेदेखि भारतको इनर्जी एक्सचेञ्ज मार्केट (आइएक्स) मा ३९ मेगावाट बिजुली निर्यात सुरु भएको थियो । जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात सुरु भएको छ । वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा भएको सबैभन्दा ठूलो उपलब्धिका रुपमा यसलाई लिन सकिन्छ । बिजुलीको निर्यातबाट दैनिक प्राधिकरणले १२ करोड रुपैयाँ बढी आम्दानी गरेको छ । असार १७ गतेसम्मको विवरण अनुसार कूल १ अर्ब ७२ करोड रुपैयाँ बढी आम्दानी गरिसकेको थियो । हालसम्म आइपुग्दा साढे दुई अर्ब रुपैयाँ बढी रकम बराबरको बिजुली निर्यात भइसकेको छ । भारतसँग चुलिएको व्यापार घाटा बिजुली निर्यातबाट त्यसलाई केही कम गर्न सकिने अवस्थाको सिर्जना भएको छ ।
अघिल्लो वर्ष दैनिक ५०० मेगावाट बराबरको बिजुली खेर जाने गरेको थियो । बिजुली खेर जाँदा पाँच अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको थियो । त्यसलाई केही हदसम्म रोकेर त्यसलाई आम्दानीको माध्यम बनाउन वर्तमान सरकार सफल भएको छ । यद्यपि, रातको समयमा अहिले पनि केही मात्रामा बिजुली खेर गइरहेको छ । त्यसलाई पनि आम्दानीको स्रोत बनाउन सरकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।
गत कात्तिकदेखि ३९ मेगावाट बिजुली भारतीय बजारमा औपचारिक रूपमा बिक्री सुरू गरेको प्राधिकरणले आगामी मनसुनमा भने ३६५ मेगावाट बराबरको बिजुली उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म गरेको भारत भ्रमणको क्रममा नेपालको ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ ।मनसुनको बिजुली खेर नजाने सुनिश्चितता भयो ।
व्यापार घाटा कम गर्न र देशको शोधानान्तर बचतमा योगदान
प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले गत चैतमा गरेको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लगायत निर्यातका सन्दर्भमा सहमति भएको थियो । यसबाट नेपालका विभिन्न ९ वटा आयोजनाको बिजुली भारत निर्यात हुने मार्ग प्रशस्त भएको छ ।
भारतको आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिएको छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको जानकारी दिए ।
भारतसँगको विद्युत् व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितीको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको उनको भनाइ छ । यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको शोधानान्तर बचतमा योगदान पुगेको छ ।
चालु आर्थिक वर्षमा करिब पाँच अर्ब र आगामी वर्षमा करिब २० अर्ब बराबरको विद्युत् निर्यातको प्रक्षेपण गरिएको घिसिङले जानकारी दिए । भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युत्को विकासमा ठूलो सहयोग पुग्ने उनको भनाई छ । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनुपर्ने देखिएको घिसिङले बताए ।
वर्तमान सरकारले गरिबमुखी ऊर्जा खपतको अवधारणालाई अगाडि ल्याएको छ । झण्डै २५ लाख ग्राहकले २० युनिटसम्म बिजुली प्रयोग गर्दा ३० रुपैयाँ मात्रै तिरे पुग्ने प्रबन्ध गरिएको छ । विद्युतीय सवारीको प्रवद्र्धनदेखि भान्छा विद्युतीय चुल्होका प्रयोगसम्मलाई रणनीतिक रुपमा अगाडि बढाएको छ ।
सरकारले ‘विदेशी ग्यास छाडाैं, स्वदेशी बिजुली उपभोग गरौँ’ भन्ने योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा लगेको छ । यस अवधिमा निजी क्षेत्रले धमाधम जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् भने प्रणालीमा बिजुली थप हुने क्रम पनि बढ्दै गएको छ ।
चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासमेत पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्तमान सरकार गठन भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकास र समृद्धिमा महत्वपूर्ण प्रगति भएको छ । –रासस
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया