नेपालको कूल वैदेशिक व्यापार सवा २१ खर्ब, घाटा १७ खर्ब २० अर्ब

0
Shares

आर्थिक वर्ष २०७८/७९ मा नेपालको कूल वैदेशिक व्यापार अघिल्लोआर्थिक वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ थियो । अघिल्लो आवमा भन्दा गत आवमा कुल वैदेशिक व्यापार ४ खर्ब ३९ करोडले बढेको हो ।

गत आर्थिक वर्षमा कुल व्यापार बढेसँगै व्यापार घाटा समेत २३ प्रतिशतले बढेको छ । गत आवमा कुल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएकोमा २ खर्ब ३ करोड मात्र निर्यात भएको छ । गत आर्थिक वर्षमा मात्र १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार व्यापार घाटा भएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७७/७८ मा यस्तो घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो ।

विभागका अनुसार कूल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ९.४३ र ९०.५७ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको निर्यात ४१.७४ प्रतिशतले वृद्धि भई २ खर्ब ३ करोड तथा कूल आयात २४.७२ प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४४ करोड पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले पनि व्यापार घाटा बढाउन सघाएको हो ।रुस–युक्रेन द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि व्यापार घाटा थप चुलिएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी १ खर्ब ६८ अर्ब २३ करोडको डिजेल, ७१ अर्ब ३८ करोडको पेट्रोल र ६५ अर्ब ५५ करोडको एलपी ग्यास आयात भएको छ । यस्तै ५६ अर्ब १८ करोडको भटमासको कच्चा तेल, ५१ अर्ब ३३ करोडको एमएस बिलेट, ४२ अर्ब ७० करोडको सुन, ४१ अर्ब १५ करोडको मोबाइल र ३९ अर्ब ३१ करोडको कच्चा पाम तेल आयात भएको छ । यस अवधिमा ७३ अर्ब बढीको खाद्यन्न आयत भएको छ ।

गत आवमा सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल र पाम तेल रहेका छन । एक वर्षको अवधिमा ४५ अर्ब ३५ करोडको भटमासको तेल र ३७ अर्ब ९४ करोडको प्रशोधित पाम तेल निर्यात भएको विभागको तथ्यांक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।