सरकारले धितोपत्र बोर्डले पठाएका तीन वटै नियमावलीमा केही संशोधन सहित स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल कम्पनीको संख्या थप गर्ने बाटो खुलाउने गरी संशोधन गरिएको नियमावली स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र व्यवसायी नियमावली २०६३ र स्टक एक्सचेन्ज सञ्चालन नियमावली २०६४ मा गरिएको संशोधन स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ र धितोपत्र व्यवसायी नियमावली २०६३ को संशोधन धितोपत्र बोर्डले पठाए अनुसार नै संशोधन गरेको छ । तर, स्टक एक्सचेन्ज सञ्चालन नियमावली २०६४ मा बोर्डले पठाएको संशोधनलाई समेत परिवर्तन गरी स्वीकृत गरेको छ ।
धितोपत्र बजार सञ्चालन नियमावलीमा धितोपत्र बोर्डले चुक्ता पुँजी, सेयर स्वामित्व र सेयरधनी रहन सक्ने व्यवस्थाको संशोधन गरेको थियो । तर, मन्त्रिपरिषदले निजी क्षेत्रको स्टक एक्सचेन्जले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था थप गरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको भएपनि माइन्यूटको काम भने बिहीबार मात्र सकिएको हो ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन अनुसार निजी क्षेत्रको चुक्ता पुँजी ३ अर्ब कायम भएको छ । बोर्डले हाल ५ करोड रहेको चुक्ता पुँजीलाई ६० गुणाले बढाएको हो । त्यसैगरी हाल स्टक एक्सचेन्जको सेयर स्वामित्व लिने सक्नेमा बैंक वित्तीय संस्था, सुचिकृत कम्पनी, ब्रोकरहरु रहेकोमा अबदेखि पब्लिक तथा प्राइभेट लिमिटेड कम्पनीहरुले रहन सक्ने व्यवस्था थप भएको छ । स्वीकृत नियमावली अनुसार कुनै पनि संगठित संस्थाले स्टक एक्सचेन्जको सेयर स्वामित्व १० प्रतिशत मात्र लिन सक्ने व्यवस्थालाई समेत संशोधन गरी १५ प्रतिशत कायम गरेको छ ।
यो नियमावलीको संशोधन स्वीकृत भएसंगै निजी क्षेत्रको स्टक एक्सचेन्ज आउने बाटो खुला भएको छ । निजी क्षेत्रको स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै २०६६ सालमै नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । बोर्डले पुराना आवेदन कम्पनीलाई अनुमती दिने भन्दा पनि नयाँ स्टक ल्याउन इच्छुक व्यवसायीहरुको सहजताका लागि धितोपत्र बजार सञ्चालन नियमावली संशोधन गरेको हो । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्जको प्रतिस्पर्धि कम्पनी चाहिने भन्दै विभिन्न व्यवसायीक समुह निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउने कसरत सफल भएको छ ।
त्यसैगरी धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी नियमावली पनि संशोधन गरेर नयाँ थप गर्ने व्यवस्था गरेको छ । त्यससंगै धितोपत्र दलाल कम्पनीलाई पनि तीन प्रकारमा वर्गिकरण गरेर चुक्ता पुँजी तोकेको छ । बोर्डले दलाल कम्पनीको काम अनुसार २०, ६० र १५० करोड रुपैयाँ चुक्ता पुँजी हुनु पर्ने व्यवस्था गरी संशोधन गरेको नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले रेमिट्यान्स पठाउने बैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयर निष्कासनमा १० प्रतिशत छुट्टाउने व्यवस्था कायम गर्दै संशोधन गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली पनि स्वीकृत गरेको स्रोतले जानकारी दियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया