संशोधित नियमावलीहरु आइतबारदेखि लागू हुने, नयाँ एक्सचेन्जका लागि आवेदन खोल्ने तयारी

0
Shares

सरकारले स्वीकृत गरेका धितोपत्र बजारसँग सम्बन्धित तीन नियमावली आइतबार देखि लागू हुने भएका छन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरे लगत्तै धितोपत्र बोर्डले ती नियमावलीहरु आइतबार भदौ २६ देखि नै लागू गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदबाट स्वीकृत भएको तीन दिनमै स्वीकृत नियमावलीहरु लागू गर्ने निर्णय गरेको हो । बोर्डको शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले निर्णय गर्दै धितोपत्र दर्ता तथा निष्कासन, धितोपत्र व्यवसायी र स्टक एक्सचेन्ज सञ्चालन नियमावली आइतबार देखि लागू गर्ने निर्णय गरेको हो ।

नियमावली लागू भएपछि नयाँ स्टक एक्सचेन्जका लागि आवेदन पनि आह्वान हुने धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।

“यसभन्दा अघि बोर्डमा आएका आवेदन बोर्डले आह्वान गरेर भन्दा पनि कम्पनीहरुले स्वइच्छाले गरेका हुन, ”ती अधिकारीले भने,“नयाँ मापदण्ड अनुसार योग्य भई यसअघि बोर्डमा आवेदन दिइसकेका कम्पनीहरुले पनि आवेदन दिन सक्छन ।”

निजी क्षेत्रको स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै २०६६ सालमै नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । उनीहरुले संशोधन हुनु भन्दा अघिको व्यवस्था अनुसारको मापदण्डमा आवेदन दिएका थिए ।

बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउन तथा धितोपत्र ब्रोकरको संख्या थप गर्न तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्कासन विशेष व्यवस्था गर्न ती नियमावली संशोधन गरेर स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । मन्त्रालयले आवश्यक समीक्षा गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र व्यवसायी नियमावली २०६३ र स्टक एक्सचेन्ज सञ्चालन नियमावली २०६४ मा गरिएको संशोधन स्वीकृत गरेको हो । धितोपत्र बजार सञ्चालन नियमावलीमा धितोपत्र बोर्डले चुक्ता पुँजी, सेयर स्वामित्व र सेयरधनी रहन सक्ने व्यवस्थाको संशोधन गरेको थियो । तर, मन्त्रिपरिषदले निजी क्षेत्रको स्टक एक्सचेन्जले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था थप गरेर स्वीकृत गरेको छ । धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन अनुसार निजी क्षेत्रको चुक्ता पुँजी ३ अर्ब कायम भएको छ ।

त्यसैगरी स्टक एक्सचेन्जको सेयर स्वामित्व लिने सक्नेमा बैंक वित्तीय संस्था, सुचिकृत कम्पनी, ब्रोकरहरु मात्र नभई अबदेखि पब्लिक तथा प्राइभेट कम्पनी कम्पनीहरु पनि थपिएका छन । स्वीकृत नियमावली अनुसार कुनै पनि संगठित संस्थाले स्टक एक्सचेन्जको सेयर स्वामित्व १० प्रतिशत मात्र लिन सक्ने व्यवस्थालाई समेत संशोधन गरी १५ प्रतिशत कायम गरेको छ ।

धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी नियमावली पनि संशोधन गरेको छ । स्वीकृत नियमावली अनुसार धितोपत्र दलाल कम्पनीलाई पनि तीन प्रकारमा वर्गिकरण गरेर चुक्ता पुँजी तोकिएको छ । बोर्डले दलाल कम्पनीको काम अनुसार २०, ६० र १५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । त्यसैगरी अहिलेका लागि ब्रोकरको संख्या थप गरेपछि त्यसपछिको तीन वर्षका लागि अनुमती रोकिने व्यवस्था समेत थप गरेको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली पनि आइतबार देखि लागू हुने जनाएको छ । बोर्डले उक्त नियमावलीमा वैदेशिक रोजगारी गई रेमिट्यान्स पठाउने नेपालीका लागि साधारण सेयर निष्कासनमा १० प्रतिशत छुट्टाउने व्यवस्था थप गरेको छ । उक्त व्यवस्था आयतबारदेखि लागू भएसँगै आइबार भन्दा पछि साधारण सेयर निष्कासन गर्ने कम्पनीले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि छुट्याउनुपर्ने हुन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।