धितोपत्र बोर्डको वार्षिक आम्दानी अर्ब माथि

0
Shares


नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७७।७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

धितोपत्र बजारबाट हुने आम्दानी साढे तीन गुणाले बढेसँगै बोर्डको आम्दानी अघिल्लो आव २०७६।७७ को तुलनामा १७५ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा बोर्डले धितोपत्र बजारबाट ९८ करोड ८५ लाख र अन्य आम्दानीबाट ८ करोड ४४ लाख रुपैयाँ गरी कुल १ अर्ब ७ करोड आम्दानी गरेको छ । अघिल्लो आव २०७६।७७ मा कम्पनीले धितोपत्र बजारबाट २८ करोड १७ लाख र अन्य आम्दानीबाट १० करोड ७९ लाख रुपैयाँ गरी कुल ३८ करोड ९६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

गत आव २०७७।७८ मा बोर्डले २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ, ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो । यसअघि अघिल्लो आव २०७६।७७ मा भने बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद, १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

सेयर बजारमा आएको बुलसँगै सेयर जारी गर्ने कम्पनीहरुको संख्यामा वृद्धि हुँदा बोर्डको आम्दानीमा समेत उल्लेख्य सुधार भएको हो । आर्थिक वर्ष २०७७।७८ मा बोर्डको खुद नाफा ६८ करोड ७० लाख ३७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०७६।७७ मा १६ करोड ६९ लाख ७० हजार रहेको बोर्डको नाफा ५२ करोड अर्थात ३११.४७ प्रतिशतले बढेको हो ।

बोर्डको कुल सम्पत्ति २ अर्ब ६ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड ९ लाख ८९ हजार रहेकोमा एक वर्ष अवधिमा ६८ करोड ३३ लाखले बढेको छ ।

पछिल्लो समय धितोपत्र बोर्डलाई बजारको विकास, लगानीकर्ताको हितभन्दा पनि कसरी कमिसन बढ्न सक्छ र आम्दानी बढाउन सकिन्छ भन्ने उद्देश्यले उसले काम गरेको आरोप लाग्ने गरेको छ । आफूले नियमन गर्ने संस्थाबाट विभिन्न नियमन शुल्कबापत आर्थिक वर्ष २०७१।७२ मा १० करोड रुपैयाँ संकलन गरेको धितोपत्र बोर्डले ६ वर्ष अवधिमा दश गुणा बढी अर्थात १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । बोर्ड नियामक नभई व्यापारी जस्तो भएको भन्ने आरोपलाई धितोपत्र बोर्डको आम्दानीको रेखाले पनि प्रमाणित गर्छ ।

बोर्डले लिने शुल्क र कमिसनका सूची हेर्ने हो भने लामै भेटिन्छ । धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुको लागि सेयर जारी गर्न लिने शुल्कदेखि लिएर प्राथमिक बजार, दोस्रो बजार, सिडिएस, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ गर्ने संस्थासँग नियमन शुल्क तथा लगानीकर्ताहरुसँग धितोपत्र खरिद बिक्री कारोबारको बखत लिने धितोपत्र बोर्ड कमिसन जस्ता शुल्क लिने गरेको छ ।

जब बजारको नियामक आफैँ व्यापारी वा बजार सञ्चालक झैं हरेक ठाँउबाट कमिसन र शुल्क असुल्न थाल्छ भने उसले कहिले पनि बजारलाई निष्पक्ष रूपमा हेर्न सक्दैन भन्ने मान्यता राखिन्छ । त्यसैले बोर्डले कारोबार बढ्दै जाँदा उसले लिने कमिशन घटाउँदै बजारको विकास विस्तार र लगानीकर्ता सचेतनामा आफूलाई केन्द्रित गर्नुपर्ने देखिन्छ ।

विगतमा सरकारी बजेटबाट सम्पूर्ण प्रशासनिक खर्च सञ्चालन गर्दै आएको बोर्डले धितोपत्रसम्बन्धी ऐन २०६३ लागू भएपछि बोर्ड आफैँले ऐनले निर्दिष्ट गरेबमोजिम रकम तथा नियमन शुल्क लिन थालेको हो । बोर्डले निष्कासन मूल्यको आधारमा ( प्राथमिक सेयर, हकप्रद, सामूहिक बचत योजना अन्तर्गतको इकाई, डिबेन्चर वा बन्ड) अनुमतिपत्र दस्तुर, धितोपत्र दर्ता दस्तुर र धितोपत्र कारोबार गरे /गराए बापत दस्तुर लिने गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।