साढे ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा ४ जनाविरूद्ध मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले अवैधानिक रुपमा ३७ करोड ६४ लाख ११ हजार रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

विभागले कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनको केटी साथी अनिता धिताल, दिदी भगवती खड्का तथा बुवा नरबहादुर खड्का विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

विभागले उनीहरुलाई विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद सजायको मागदाबी समेत गरेको छ ।

उनीहरूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको सूचनाले निषेधित कसूर पुष्टि भएको भन्दै विभागले अदालतमा मुद्दा हालेको हो।

प्रतिवादीहरुको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, बरामित मोबाइलमा प्राप्त मिसिल संलग्न डेटाहरु लगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी दिनेश खड्का समेतका आधारमा विदेशी विनिमय अमेरिकी डलरको अवैध रुपमा कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

खड्काले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इ–स्क्रिल तथा कारोबार प्लाटफर्म ‘बिनान्स’ मार्फत नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेको विभागको अनुसन्धानमा फेला परेको छ ।

अनुसन्धानमा खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हजार भन्दा बढि रकम कारोबार भएको देखिएको छ ।  यस्तै खड्काकी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकको खाताबाट २० करोड ४२ लाख ९४ हजार, महिला साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार र बुबा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिएको हो ।

उनले काठमाडौंको कालोपुलबाट मोबाइल एप्स इ–स्क्रिल तथा कारोबार प्लाटफर्म ‘बिनान्स’ को प्रयोग गरि रकम लोड तथा अनलोड गरी अनलाइन मार्फत अवैध रुपमाडलरको कारोबार गर्ने गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।