प्रतिसेयर आम्दानी २९ रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सेयरमूल्य १ हजार ६०० रुपैयाँ माथि

0
Shares

नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य सम्बन्धीत कम्पनीको वित्तीय विवरणका आधारमा भन्दा बजारको हल्ला, लहलहैमा वा कारोबारीले तोकेको आधारमा समेत निर्धारण हुने गरेका छ । यसको एउटा उदाहरण बनेको छ विन नेपाल लघुवित्त ।

मर्जका कारण एक वर्षभन्दा बढी कारोबार रोक्का भएर खुला भएको  विन नेपाल लघुवित्तको सेयरमूल्य साेमबारसम्म सातौं दिन सकारात्मक सर्किट लागेर बढेको छ । माघ ५ गते प्रतिसेयर ८३१ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयरमूल्य माघ १७ गते सोमबारसम्म आइपुग्दा ९४.८२ प्रतिशत बढेर १ हजार ६१९ रुपैयाँ २० पैसा पुगेको छ ।

यो कम्पनीको सेयरमूल्य कम्पनीको प्रगति राम्रो भएर वा भविष्यमा राम्रो प्रतिफल पाउने आधारमा सात सात दिनसम्म सकारात्मकसर्किट लागेर बढेको हैन । मर्जर पश्चात हालै सेयर कारोबार खुलेकाले कम्पनीको सेयर बिक्री गर्नेको संख्या कम छ भने चुक्ता पूँजी कम भएको लघुवित्त भएकाले उसले सर्वसाधारणमा जारी गरेको सेयर संख्या समेत अति नै कम रहेको छ । यहि कारोबारणले कम्पनीको सेयरमूल्य आवश्यकभन्दा निकै धेरै नै बढेको देखिन्छ ।

कारोबार भएको ७ कारोबार दिनसम्म सेयर बिक्री गर्ने व्यक्ति नै नभेटिएको लघुवित्तको सेयर सोमबार भने राम्रै बिक्री चाप देखिएकाे छ ।  कारोबार खुला भएको आधा घण्टामा नै करिब ८ हजार कित्ता सेयर खरीद बिक्री भैसकेकाे छ । नेप्सेको मार्केट डेप्थमा सेयर बिक्री गर्ने शुन्य देखिँदा खरीद माग उच्च छ । लघुवित्तको सेयर खरीदका लागि सर्किट मूल्यमा नै १५३ वटा आदेश मार्फत १२ हजार ४६९ कित्ता सेयरको माग छ । लघुवित्तको सेयर खरीका लागि कुल १७३ वटा आदेश मार्फत १६ हजार ९९६ कित्ताको माग रहेको छ ।

विगतमा कम्पनीले वितरण गरेको लाभांश पनि आकर्षक देखिँदैन , लघुवित्तले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट चुक्ता पूँजीको ५.२० प्रतिशत नगद तथा आव २०७५।७६ बाट २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यपछिका दुई आव २०७६।७७ र आव २०७७।७८ बाट लगानीकर्ताले कुनै लाभांश पाउन सकेका छैनन ।

सर्वसाधारणमा जारी भएको सेयर संख्या न्यून हुँदा कम्पनीको सेयर धेरै लगानीकर्ताको हातमा छैन । जसका कारण सीमित कारोबारीहरुलेयस्ता पूँजी कम हुने कम्पनीको सेयरमूल्यमा अस्वभाविक वृद्धि हुने गरेको छ । साविकको नेपाल सेवाले विसं २०७५ बैशाखमा कुल १ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत बराबरको ९ हजार कित्ता सामुहिक लगानी कोषका इकाईहरुका लागि र २ प्रतिशतले हुन आउने ३ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी १ लाख ६७ हजार ४०० कित्ता सेयर गोलाप्रथाबाट १६ हजार ७४० जनाले १० कित्ताका दरले पाएका थिए ।

यसबीचमा कारोबार भई सेयर हुने लगानीकर्ताको संख्या न्यून भएको र कतिपय लगानीकर्तालाई मर्जर सम्पन्न भएपछि सेयर कारोबार खुला भएको जानारी समेत छैन । केही लगानीकर्ताले आईपीओमा परेको सेयर दीर्घकालीन रुपमा राख्ने भएकाले खरीद बिक्रीमा आउने गर्दैन । यसकारण लघुवित्तको सेयर सीमित व्यक्तिको हातमा मात्र रहेको छ । यसरी सीमित व्यक्तिको हातमा मात्र सेयर हुँदा आफुले चाहेको मूल्यसम्म बढाउने र उच्च मूल्यमा सेयर बिक्री गरी ‘पम्प एण्ड डम्प’ गर्ने प्रचलन नेपालमा मात्र हाेइन विश्व सेयर बजारमा पनि हुने गरेको पाइन्छ । तर अन्य देशमा लगानीकर्ता सचेत भएर मात्र सेयर खरीद बिक्री हुने गरेकाे छ । नेपालमा भने अरूकाे सुझाव र सर्किट लागेर बढ्ने कम्पनी अझै बढ्ने आशमा लहलहैमा समेत धेरै काराेबार हुने गर्दछ ।

राम्रो वित्तीय विवरण भएका र निरन्तर उत्कृष्ट प्रतिफल दिइरहेका लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७०० वा ८०० रूपैयाँमा छानिछानी खरीद गर्न सकिने भएपनि कम पूँजी भएका लघुवित्तहरुको मूल्य भने उच्च रहने गरेको छ । कम पूँजी हुने कम्पनीले दिने प्रतिफलले सेयरमूल्यलाई एकातिर समर्थन गर्न सक्दैन भने अर्कोतिर यस्ता स्टक लगानीमा उच्च जोखिम समेत हुने गर्दछ । यस्ता कम्पनीको सेयरमूल्य जसरी बढ्यो त्यसैगरी नै घट्न सक्ने भएकाले कम्पनीको सेयर खरीद गर्दा लगानीकर्ताले सम्बन्धीत कम्पनीको वित्तीय अवस्था हेरेर मात्र खरीद गरेमा घाटा खानबाट बच्न सकिन्छ । 

साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्तबीच मर्जर सम्पन्न भई एक वर्षपछि कार्तिक १५ गतेदेखि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे थियाे । लघुवित्तको माघ ५ गते बुधबारदेखि दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार खुला भएको थियो ।

लघुवित्तले एकीकृत कारोबारपछि हालसम्म चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । साविकको नेपाल सेवाको पहिलो त्रैमासिक वित्तीय विवरण लघुवित्तको प्रतिसेयर आम्दानी २९.३२ रुपैयाँ ऋणात्मक रहेको छ । विन लघुवित्त नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेको छैन । विन लघुवित्तले सर्वसाधारणमा सेयर जारी नगरेकाले एकीकृत विन नेपाल लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न (संरचना मिलाउन) थप नयाँ सेयर (एफपीओ) मा जाने देखिन्छ । राष्ट्र बैंकको व्यवस्था अनुसार वित्तीय संस्थाले चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा अनिवार्य रुपमा जारी गर्नुपर्ने हुन्छ ।

२०७७ साल मंसिर ३० गते नेपाल सेवा र विन लघुवित्तले मर्जर सम्झौता गरेका नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।दुई लघुवित्तबीच १ः०.७५ को अनुपातमा मर्जर सम्पन्न भएको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने ।गाभिने कार्य सम्पन्न भई कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको ७ लाख २४ हजार ४६३ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी माघ ४ गते नेप्सेमा सूचीकृत भएको थियो ।

थप समाचार:-

विन लघुवित्तको राेक्का सेयर कारोबार आजदेखि सुचारू

आरम्भ चौतारी र विन लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ गतेदेखि

नेपाल सेवा लघुवित्तको सेयर वीन लघुवित्तको नामबाट कारोबार हुने

नेपाल सेवा र विन लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेपाल सेवा लघुवित्तले विन लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्दै

नेपाल सेवा लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव पारित गर्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।