प्राथमिक बजारबाट हुने फाइदाले सेयर बजारमा लगानीकर्ताको ओइरो, डिम्याट खाता ५० लाख नजिक

0
Shares

कुनै बेला थियो सर्वसाधारणका लागि जारी हुने सेयर खरीका लागि डिम्याट खोल्न सुझाव दिँदा मानिसहरुले वास्तै गर्दैनथे । तर अहिले समयले त्यो अवस्थाको तुलनामा १८० डिग्रीको परिवर्तन देखिएको छ ।

प्रत्येक महिना  एक लाख बढीको संख्यामा थपिने हितग्राही खाता अर्थात डिम्याटले पनि प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण कति छ भने बुझ्न सकिन्छ ।

कोभिड संक्रमणका कारण व्यवसायको अन्य क्षेत्र खुम्चिनु र सोही समयमा हात खाली नजाने नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया लघुवित्त र नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओबाट भएको पूँजीगत लाभका कारण पनि प्राथामिक बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको हो ।

यसबीचमा हात खाली नजाने (सबैलाई दिइएको) आईपीओबाट एक व्यक्तिले छोटो समयमा नै राम्रो नाफा कमाउन सफल भए । यसबीचमा जारी भएको पुनर्बीमाबाट लगानीकर्ताले ९५ हजार रुपैयाँसम्म, एनआईसी एशिया लघुवित्तबाट ३७ हजारसम्म र निफ्राबाट ३७ हजार रुपैयाँसम्म पूँजीगत लाभ प्रापत गर्दा प्राथमिक सँगै धितोपत्रको दोस्रो बजारका लगानीकर्ताको संख्यामा समेत उत्तिकै वृद्धि भैरहेको छ ।

पछिल्लो समय सरकारले पब्लिक कम्पनीमा जाने कम्पनीहरुलाई करमा छुट दिएर प्रोत्साहनमुलक नीति लिएपछि सार्वजनिक निष्काशनमा आउने कम्पनीको संख्यामा समेत वृद्धि आउन थालेको छ ।

सेयर बजार प्रविधिमैत्री भएकाले पनि पछिल्लो चरणमा सेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको सहभागिता उच्चदरमा बढ्न थालेको हो ।

नयाँ लगानीकर्ताको उपस्थिति बढेसँगै डिम्याट खाता खोल्नेको संख्या मासिक १ लाख बढी थपिँदै

सेयरबजारमा नयाँ नयाँ लगानीकर्ताको उपस्पिति बढेसँगै डिम्याट खाताको संख्यामा पनि पछिल्लो समय उच्च रुपमा बढेको छ ।

नेपालको प्राथमिक तथा दोस्रो बजारमा लगानीका लागि डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या झन्डै ५० लाख पुगेको छ ।

सेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । केन्द्रीय निक्षेप प्रणाली अर्थात सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार माघ २१ शुक्रबारसम्म आइपुग्दा ४८ लाख ३० हजार ४७५ वटा डिम्याट खाता खोलिएका छन् । गत बैशाख वैशाख २० गते ३५ लाख ९ हजार ८८२ डिम्याट खाता खोलिएकोमा ९ महिनाको अवधिमा १३ लाख २० हजार ५९३ वटा डिक्याट खाता थपिएका हुन् ।

यसबीचमा गत साउन १४ गतेदेखि बुद्दभुमी हाइड्रोपावरले आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएकोमा यसबीचमा बोर्डमा अध्यक्ष चयन हुन नसक्दा करिब ६ महिना प्राथमिक बजारमा शुन्यता छायो । बोर्डले एकैपटक माघ ९ गते ६ कम्पनीलाई सर्वसाधारणमा सेयर बिक्री गर्न अनुमति दिएसँगै पुनः प्राथमिक बजार चलायमान बनेको छ । नियामक निकायबाट करिब आधा वर्ष आईपीओ बिक्री अनुमति रोकिएपनि यसबीचमा खोलिएको डिम्याट खाताको संख्याले बजारमा नयाँ नयाँ लगानीकर्ताको प्रवेश अधिक रहेको दर्शाउँछ ।

विसं २०७७ मंसिरको तुलनामा नेपालमा २६ लाख भन्दा बढीले डिम्याट खाता खोलिएका छन् । २०७७ मंसिर १७ गतेसम्म नेपालमा २१ लाख ९९ हजार ६७ डिम्याट खाता खोलिएका थिए । तर १४ महिनाको अवधिमा २६ लाख ३१ हजार ४०८ डिम्याट खाता बढेका छन् ।

डिम्याट खाता भनेको के हो ?

अंग्रेजी शब्द ‘डिम्याट्रिलाइज्ड’ को छोटकरी शब्द नै डिम्याट हो । नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ ।

डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्न नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीहरुमा गएर यस्तो खाता खोल्न सकिन्छ ।

हाल बोर्डबाट ७९ वटा संस्थाले डिपी सञ्चालनका लागि अनुमति पाएका छन् । हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन्।

विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउने व्यवस्था थियो । तर २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रुपमा सञ्चालनमा आएको हो । अहिले सेयर अनलाइनबाट नै यहि अभौतिकं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । अर्थात हाम्रो बैंक खातामा जसरी पैसा जम्मा हुन्छ, त्यसैगरी हामीले किनेको सेयर डिम्याट खातामा जम्मा हुन्छ ।

यस डिम्याट खातामा प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा जम्मा हुन्छ । अर्थात प्राथामिक बजार अथवा दोस्रो बजारमा किनेको सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।