राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र प्रदायकहरु माथि विशेष निगरानी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा प्रदायक माथि विशेष निगरानी सुरु गरेको छ । पछिल्लो समयमा गैरकानुनी रुपमा क्रिप्टो करेन्सीको कारोबार बढेपछि अवैधानिक बाटोबाट हुने विदेशी मुद्राको कारोबार निरुत्साहित गर्नका केन्द्रीय बैंकले यस्ता कम्पनीहरु माथिको निगरानी बढाएको हो ।

पछिल्लो समयमा रेमिट्यान्समा आएको कमी तथा विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा हुने विदेशी मुद्राको कारोबार नियन्त्रण गर्ने नीति लियो । सो नीति अनुसार क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी भएपनि त्यसका संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम पनि बढेको छ ।

क्रिप्टो कारोबार मार्फत विदेशी मुद्राको अवैधानिक कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा सञ्चालक तथा प्रदायकहरुको कारोबारलाई विशेष निगरानीमा राखेर अध्ययन थालेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले नोटबजारलाई बताए ।

क्रिप्टोकरेन्सीबाट कमाएको रिवार्ड र रकम ओकेक्स, बाइनान्स हुँदै इ–सेवाबाट बैंकमा जाने एक कारोबारीले बताए । “हाइपरफन्डमा कमाएको रकमलाई पहिला ओकेक्सको माध्यमबाट बाइनान्समा ट्रान्सफर गरिन्छ,” ती कारोबारीले भने, “ओकेक्सबाट बाइनान्समा पठाउँदा रकम डलरमा कन्र्भट भएको हुन्छ, बाइनान्समा किन्ने र बेच्ने बीच बातचीत हुन्छ, बेच्नेले किन्नेको बाइनान्स खातामा डलर पठाउँछ र किन्ने मान्छेले इ सेवामा पैसा राखिदिन्छ ।” यो जटील प्रक्रिया पूरा भएपछि मात्र इ–सेवामा आएको रकम बैंकमा पठाउन सकिने ती कारोबारीको अनुभव छ ।

“क्रिप्टो कारोबारमा इ–सेवा, खल्तीहरुको संलग्नता रहेको कुरा आएको छ,” राष्ट्र बैंकका सूचना अधिकारी पोखरेलले भने, “यसमा केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभाग सक्रिय छ ।” राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्थाहरुले अनैतिक तथा अवैधानिक काम गर्न पाइँदैन । राष्ट्र बैंकले अहिले भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरु माथि प्रत्यक्ष । अप्रत्यक्ष सुपरीवेक्षण गरिरहेको जानकारी उनले दिए । “राष्ट्र बैंकले ती संस्थाहरुको अनसाइट इन्भेष्टिगेशन गरिहेको छ,” उनले भने,“यसबाट भुक्तानी सेवा प्रदायक र भुक्तानी सेवा सञ्चालकहरुले बदमासी बाहिर आउँछ ।”

हाल नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका अलवा २८ भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर) र १० भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर) गैर वित्तीय संस्थाले इजाजत लिएका छन् ।

प्रविधिको विकास भएसँगै अनलाइन माध्यमबाट नै कारोबार गर्न मिल्ने केन्द्रिकृत तथा विकेन्द्रिकृत अन्तर वैयक्तिक वित्तीय प्रणालीको पनि विकास भएको छ । केन्द्रिकृत भुक्तानी प्रदायकहरु नेपालको खण्डमा नेपाल राष्ट्र बैंकको मातहतमा रही भुक्तानी सेवाप्रदान गर्छन् भने विकेन्द्रिकृत प्रणालीमा दुई व्यक्तिहरु बीचको कारोबार हुने गर्छ । कुनै वित्तीय संस्थाले यस किसिमको विकेन्द्रिकृत मौद्रिक प्रणालीलाई नियन्त्रण गर्न सक्दैन । प्रविधिको विकास भएसँगै अनलाइन माध्यमबाट नै कारोबार गर्न मिल्ने केन्द्रिकृत तथा विकेन्द्रिकृत अन्तर वैयक्तिक वित्तीय प्रणालीको पनि विकास भएको छ । यसले गर्दा पनि गैरकानुनी गतिविधि बढेको छ ।

नेपालले क्रिप्टो करेन्सीको कारोबारलाई सुरुदेखि नै गैरकानुनी भन्दै आएको छ । विसं २०७४ मा क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेका १० जना कारोबारीलाई प्रहरीले पक्राउ गरी मुद्दा समेत चलाएको थियो । सो मुद्दाको फैसला २०७८ असोजमा भएको थियो । अदालतले पनि क्रिप्टो कारोबारीलाइ विदेशी मुद्राको अपचलन गरेको आधारमा आर्थिक जरिवाना गरेको छोडेको छ । क्रिप्टो कारोबारीलाई भएको यो नै पहिलो कारबाही हो ।

पछिल्ला दिनहरुमा क्रिप्टो कारोबारमा संलग्न नेपालीहरुको संख्या ह्वात्तै बढेपछि त्यसलाई निरुत्साहित गर्न खोजिएको छ । निरुत्सािहत गर्ने क्रममा सरकारले केही क्रिप्टो कारोबारवारीलाई पक्राउ गरेको छ भने केहीलाई मुद्दा चलाएको छ । प्रहरी प्रसाशनले पनि सक्रियता बढाउन थालेपनि क्रिप्टो कारोबार पक्राउने पर्ने क्रम बढ्दै गएको छ ।

केही महिना अघि मात्र ३७ करोड बिगो दाबी गर्दै कैलालीका दिनेश खड्का सहित चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ । त्यसैगरी बुधबार मात्र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएपछि नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  २० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।