अग्रवाल प्रकरण: आफैँ कारबाहीमा पर्ने भएपछि मिटरब्याजीहरु ठगिँदा पनि चुपचाप

0
Shares

ग्रीनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालबाट करिब अर्बौ रुपैयाँ ठगिँदा पनि मिटर ब्याजीहरुले प्रहरी समक्ष उजुरी गरेका छैनन् । मिटरब्याजीहरु आफैँ कारबाहीमा पर्ने भएपछि उनीहरुले अग्रवालसँग गरेको मिटरब्याजी कारोबारलाई गुपचुप राखेका हुन् ।

एक महिना अघिबाट वेपत्ता भएका अग्रवालले वेपत्ता हुँदा घरमा छाडेको पत्रमा आफुहरुसँग बैंक र मिटर ब्याजीलाई तिर्ने पैसा नभएको उल्लेख गरेको प्रहरीले नै बताएको छ । मिटरब्याज कारोबारलाई नेपालमा गैरकानुनी मानिन्छ । मिटरब्याजी कारोबारी प्रहरी समक्ष पुगे मुलुकी अपराध संहिता, २०७४ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसै काराणले मिटरब्याजीहरु गुमनाम रहेको अनुमान प्रहरीको छ ।

त्यसैगरी अग्रवालका विरुद्ध मिटरव्याजीको कुनै पनि लिखित उजुरी नआउँदा प्रहरीले पनि यस विषयमा अनुसन्धान अघि बढाउन सकेको छैन । गत पुस २२ गते घरमा एउट पत्र छाडेर वेपत्ता भएका अग्रवालले आफुलाई मिटरब्याजीको धम्कीसम्म आउने गरेको उल्लेख गरेको देखिन्छ । तर प्रहरी उनको घरमा फेला पारेको त्यो पत्रलाई आधिकरिक मान्न तयार छैन । मिटरब्याजको कारोबारको विषयमा अनुसन्धान सुरु गर्दाका लागि प्रहरीका लागि त्यो पत्र नै प्रयाप्त प्रमाण देखिन्छन् । किनभने अग्रवालले छाडेको पत्रमा उनले प्रमाण कै लागि हस्ताक्षर समेत गरेका छन् ।

अग्रवालले लेखेको भनिएको पत्र कै आधारमा प्रहरीले मिटरब्याजको कारोबार भनेर अनुसन्धान अघि बढाउने अवस्था नभएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए । “यसमा दुई पक्ष संलग्न छन्,” मैनालीले भने,“एउटा पैसा दिने र अर्को लिने, अहिले लिने पक्ष वेपत्ता छ भने दिने पक्षले आफु ठगिएको भन्दै उजुरी गर्न आएका छैनन् ।”

उक्त पत्रलाई अग्रवालले नै लेखेको हो भनि पुष्टि समेत नभएको उनले बताए । वेपत्ता भएको व्यक्ति सम्पर्कमा आएको खण्डमा उक्त लिखतलाई प्रमाणित गरेर अध्ययन अनुसन्धान अघि बढाउन सकिने बताउँदै उनले भने, “अहिले लेखेको भनिएको मान्छे पनि छैन, उक्त लिखतमा उल्लेख भए अनुसार मिटरब्याजीले आफू ठगिएको भन्दै उजुर पनि दिएका छैनन् ।” यसमा मिटर ब्याजमा पैसा लिएको भन्ने भनेको व्यक्ति नै सम्पर्कमा छैनन् भनेर त्यसलाई कसरी पुष्टि गर्ने ? उनले प्रश्न गरे । “पैसा दिएका व्यक्तिहरु पनि प्रमाण सहित उजुरी गर्न हामी कहाँ आएका छैनन्,” उनले भने ।

सम्पर्क विहीन भएका अग्रवाल परिवार सुरक्षित

गत पुस २२ गते बेपत्ता भएका ग्रीनलाइन सेन्टरका सञ्चालक ओम प्रकाश अग्रवाल सहित ९ जनाको परिवार सकुशल रहेका छन् । मैनालीका अनुसार कुन ठाउँमा छन् भनेर भन्न नसकिए पनि सुरक्षित रहेको भने मैनालीले नै बताएका छन् ।

घरमा एउटा पत्र छाडेर एक महिना अघि वेपत्ता भएका अग्रवाल परिवार अझै फेला पर्न सकेका छैनन् । उनी कहाँ गए, के गर्छन् भन्ने विषयमा कसैलाई केही थाहा छैन । तर प्रहरीका अनुसार अग्रवाल परिवार सुरक्षित रहेका छन् । “सुभचिन्तकहरुले भने अनुसार कहाँ छन् भन्ने चैँ भनेका छैनन् तर उहाँहरु सकुशल हुनुहुन्छ भन्ने सुन्नमा आएको छ,” मैनालीले भने । अग्रवाल करिब २५ वर्षदेखी काठमाण्डौंको दरबार मार्गमा महँगा विदेशी मदिराको कारोबार गर्दै आएका थिए ।

तर कोरोनाका कारण व्यापार घाटा व्यहोर्नु पर्दा अर्बौं ऋण लागेको भन्दै उनले फरार हुने बेलामा छाडेकको पत्रमा उल्लेख गरेका छन् । अग्रवालले विभिन्न बैंक, व्यक्ति तथा मिटरव्याजीको अर्बौं रुपैयाँ नतिरी फरार भएका हुन् । मिटरव्याजी न त प्रहरी सामु आएर अग्रवाल विरुद्ध उजुरी लेखाउन सक्छन् त न कानुनी सहायता नै खोज्छन् । प्रहरीका अनुसार अग्रवाल विरुद्ध अझसम्म पनि कुनै लिखित उजुरी आएको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।