
राष्ट्रिय उपभोक्ता मञ्चले जथाभावी रुपमा दूधको मूल्य बढाइएको भन्दै डीडीसी, डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशन विरुद्ध कारबाहीको माग गरेको छ ।
उपभोक्ता मञ्चले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै डीडीसी, डेरी उद्योग संघ तथा डेरी एशोसियशन विरुद्ध विरोध जनाउँदै कारबाहीको माग गरेको हो ।
डीडीसीको गत बुधबार बसेको सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट लागू हुने गरी दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय नितान्त गैरजिम्मेदार र बदनियतपूर्ण रहेको उपभोक्ता मञ्चले जनाएको छ ।
यस्तै मन्चले सरकारको निर्देशन भन्दा बढि मूल्य तोक्ने काम गरेकोमा संस्थानको व्यवस्थापन माथि आवश्यक कारवाही गरी पाउन नेपाल सरकार समक्ष माग गरेको छ ।
यस्तै दुध तथा दूधजन्य पदार्थमा सरकारको नीति निर्देशन विपरित निजी क्षेत्रका दुई संस्था डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशनले सरकार र संस्थानले तोकेको मूल्य भन्दा बढी मूल्य तोकेको भन्दै आपति जनाएको छ ।
निजी डेरीले सरकार र संस्थानले तोकेको मूल्यमा पनि १ रुपैयाँ थप गरी १० रुपैयाँ प्रतिलिटर मूल्य बढाउने भनि सार्वजनिक रुपमा निर्णय गरेपछि उपभोक्ता मञ्चले विरोध जनाएको हो ।
डेरी संघ तथा एशोसियशनले कृषि तथा सहकारी मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गर्न जिम्मेवारी दिएको थियो । सोही अनुसार निर्णय भएकोमा उक्त मूल्यमा असहमति जनाउँदै आजबाट लागू हुने गरी नेपाल डेरी संघ र नेपाल डेरी एशोसियशनले दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेका थिए ।
उपभोक्ता मञ्चले विचौलियाहरुको दबाबमा गरिएको यो मूल्यवृद्धिको पूर्णतः विरोध गर्दै बढाएको मूल्य स्पष्ट रुपमा सर्वसाधारण किसानले पाउने ग्यारेण्टी गर्न र किसानले उचित रकम नपाएको अवस्थामा बढेको मूल्य भुक्तानी नगर्ने व्यवसायी माथि समेत कानूनी कारवाही गर्न समेत माग गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया