मुलुकमा चालु आर्थिक वर्षको ७ महिना अवधिमा डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल १ खर्ब ४१ अर्ब २२ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आर्थिक वर्षको ७ महिनासम्म ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जसमा पेट्रोलियम पदार्थको आयात हिस्सा १२.३१ प्रतिशत देखिन्छ ।
विभिन्न प्रकारको पेट्रोलियम पदार्थ आयात भएकोमा ७ महिनाको अवधिमा सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड १९ लाख ६४ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै एलपी ग्याँस ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँ र पेट्रोल ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको आयात भएको तथ्याङ्क छ ।
पेट्रोलियम पदार्थपछि कच्चा भटमास (सोयाविन तेल) ३९ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ, अर्धप्रशोधित फलामका उत्पादन २९ अर्ब ८६ करोड १९ लाख, पाम आयल २९ अर्ब २२ करोड १९ लाख, मोबाइल २८ अर्ब ३८ करोड ५६ लाख, भ्याक्सीन २६ अर्ब ८५ करोड ९ लाख र सुन २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको आयत भएको छ ।
| सात महिनाको वैदेशिक व्यापार सारांश | ||
| आयातः | ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ | ४२.७८ प्रतिशत बढेको |
| व्यापारमा आयातको हिस्साः | ८०.७१ प्रतिशत | २.४९ प्रतिशत घटेको |
| निर्यातः | १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ | ८८.३० प्रतिशत बढेको |
| व्यापारमा निर्यातको हिस्साः | १०.२९ प्रतिशत | २८.६० प्रतिशतले बढेको |
| कुल वैदेशिक व्यापारः | १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ | ५४.८६ प्रतिशत बढेको |
| व्यापार घाटाः | १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ | ३८.४५ प्रतिशत बढेको |
दश खर्ब बढीको व्यापार घाटा,यस्ता छन् नेपालका प्रमुख नियात वस्तु
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ रहेको छ ।
गत आवको यसै अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख २२ हजार रुपैयाँ व्यापार घाटा रहेकोमा समीक्षा अवधिमा ३८.४५ प्रतिशतले बढेको हो ।
कुल वैदेशिक व्यापार रकममा आयातको हिस्सा २.४९ प्रतिशतले घट्दा चालु आर्थिक वर्ष २०७८।७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि भएपछि निर्यातको हिस्सामा बढेर २८.६० प्रतिशतको वृद्धि कायम भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा चालु आवको यसै अवधिमा बढेर १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । यो गत आवको यसै अवधिको तुलनामा ४६.४३ प्रतिशतले बढी हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आवको यसै अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा आवको पहिलो ७ महिनामै १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँभन्दा बढीको निर्यात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ८८.३० प्रतिशत बढी हो ।
चालू आवको ७ महिनामा नै नेपालको निर्यात बढाउन भटमास तेलको महत्वपूर्ण योगदान छ । साउनदेखि माघसम्म सोयाविनको तेल र पाम आयलको तेलको निर्यात बढ्दा नेपालबाट निर्यात बढेको हो । यस अवधिमा दोब्बर भएर ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बराबरको सोयाविनको तेल निर्यात भएको छ । ठूलो परिमाणमा कच्चा भटमास ल्याएर नेपालमा प्रशोधनमार्फत मूल्य अभिवृद्धि गरी निर्यात हुँदै आएकाले यसको दिगोपनको सन्दर्भमा भने आशङ्का हुने गरेको छ ।
भटमासको तेलपछि पाम आयलको तेल दोस्रो ठूलो निर्यात भएको छ । ७ महिनामा तीन प्रकारका ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँ बराबरको पाम आयलको तेल निर्यात भएको छ ।
यस्तै पाँच अर्ब ७ करोड ६० लाख रुपैयाँको भुइँ कभरिङका अन्य कपडा, ऊन वा जनावरको रौबाट बनेका गलैँचा, तीन अर्ब ४० करोड ३५ लाख रुपैयाँको जुट वा अन्य टेक्सटाइल बेस फाइबरको बुनेको कपडा, दुई अर्ब ७५ करोड ६ लाख रुपैयाँको उनी कपडा र दुई अर्ब ६४ करोड ३० लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । सूर्यमुखी तेल, धागो तथा पोलिस्टर, जुस, लगायतको २ अर्बभन्दा बढीको निर्यात हुँदै मुख्य निर्यात भएका वस्तुहरूमा समेटिएका छन् ।
नेपालको वैदेशिक व्यापारमा करिब ६० प्रतिशत हिस्सा भारतसँग निर्भर रहेको छ । सोही कारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अगाडि रहेको विभागको तथ्यांकमा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया