नेप्से दोहोरो अंकले घट्यो, हाइड्रोपावरमा भने लगानीकर्ताको आकर्षण

0
Shares

सेयर बजार सूचक मापक नेप्से साताको चौथो कारोबार दिन बुधबार दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार दोहोरै अंकले ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका (नेप्से) का अनुसार बुधबार सूचक १५.५० अंक अर्थात ०.५७ प्रतिशतले घटेर २७२०.४३ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ बिन्दुमा झरेको छ ।

यसदिन ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल २२८ वटा कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ४८ हजार ९११ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका कूल १३ उपसमूहगत सूचकमध्ये हाइड्रोपावर १.०७ र आज म्यूचूअल फण्ड ०.८४ अंकले बढेको छ भने बाँकी ११ उपसमुहगत सूचक घटेको छ । अन्य सर्वाधिक २ प्रतिशत घटेको यसदिनको बजारमा ब्यापार, होटल, उत्पादन तथा प्रशोधनमुलक सूचकमा १ प्रतिशत धेरै गिरावट देखिएको छ ।

हाइड्रोपावरप्रति लगानीकर्ताहरूको आकर्षण

सरकारले फागुन १३ गतेभित्रै संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बताएपछि त्यले भविष्यमा जलविद्युत् क्षेत्रमा सकारात्मक प्रभाव पार्ने आंकलनका साथ लगानीकर्ताले यो क्षेत्रमा लगानी बढाएका छन् ।  सोही कारणले घटेको बजारमा हाइड्रोपावरप्रति लगानीकर्ताहरूको आकर्षण भने उच्च देखिएको छ । सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्रोपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् ।

आज सबैभन्दा धेरै सेयरमूल्य बढेका दश कम्पनीमा ९ कम्पनी जलविद्युत कम्पनी रहेका छन् । यसदिन ईदी मार्दी एण्ड आरबि हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड ईदी मार्दीको सेयरमूल्य १० प्रतिशतले बढेर १०१०.१० रुपैयाँ पुगेको छ भने दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशतले बढेर ३५९.७० रूपैयाँमा बन्द भएको छ ।यस्तै घलेम्दी हाइड्रोपावरको मूल्य पनि पनि सर्किट लेवल (९.२२ प्रतिशत) ले बढेको छ ।

तेह्रथुम पावर ८.८४ प्रतिशत, रुरु जलविद्युत परियोजना ७.४८, सामलिङ्ग पावर ६.८४, आरबिबि म्युचुअल फण्ड ५.८८, मध्यभोटेकोशी जलविद्युत ५.८५, बुद्धभुमी हाइड्रोपावर ५.७७ र मैलुङ्गखोला जलव्दिुतको सेयरको भाउ पनि ५.५७ प्रतिशतले बढेको छ । अर्कोतर्फ नेपाल भारतसँग दुई देशीय विद्युत व्यापारका लागि काठमाण्डौंमा सकारात्मक छलफल चलिरहेको पनि जलविद्युत् समूहमा लगानीकर्ताको अझ आकर्षण देखाएको छ ।

नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज दिउँसो तीन बजेदेखि ह्यात होटलमा सुरु भएको छ । सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्नेछ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् । दुई देशबीचको ऊर्जा बैठकमा नेपाल–भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुनेछ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ । प्रत्येक ६–६ महिनामा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्ने प्रावधान अनुसार भारतको बैंगलोर बैठकपछि काठमाण्डाैंमा बसेको हाे ।

बुधबार १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेको छ । उक्त डिबेञ्चरको मूल्य घटेर ९५०.८० रूपैयाँमा झरेको छ । एभरेष्ट इन्स्योरेन्स संस्थापक ३.६६, नेपाल फाइनान्स ३.६२ प्रतिशत, सर्पोट माइधmोफाइनान्स ३.५७, गुराँस लघुवित्त ३.३१ र लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य ३.२७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम बुधबार शीर्ष स्थानमा रहेको छ । टेलिकमको १९ करोड ३७ लाख ८५ हजार रूपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।

यस्तै घलेम्दी हाइड्रोपावरको १२.८५ करोड, हिमालयन डिष्टिलरी ९.५८ करोड, नेशनल हाइड्रोपावर ९.४९ करोड, अपि पावर ९.०८ करोड, सानिमा माई हाइड्रोपावर ८.८३ करोड, बरुण हाइड्रोपावर ८.३१ करोड, एचआईडिसीएल ८.०९ करोड, एनआरएन इन्फ्रास्टक्चर लिमिटेड ८.०२ करोड र अरुण भ्याली हाइड्रोपावरको ७.४६ करोडको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।