‘कन्जम्सन लोन’ मा गरिएको कडाइले अर्थतन्त्र सुस्त हुने, कुल कर्जाको १७% हिस्सा

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गरिएको परिवर्तनले उपभोग्य प्रकृतिका कर्जा प्रवाह नियन्त्रण हुने भएको छ । उच्च आयातका कारण घट्दै गएको विदेशी विनिमय सञ्चितिले अर्थतन्त्रमा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि उपभोग्य प्रकृतिका कर्जामा कडाई गरेको हो ।

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गति दिन भन्दै उपभोग्य प्रकृतिका कर्जाहरुमा खुकुलो नीति लियो ।

बैंकहरुले पनि सो क्षेत्रका कर्जामा केन्द्रीय बैंकको नीतिको पूर्ण सदुपयोग गर्दै आक्रमक रुपमा कर्जा लगानी गरे । बैंकहरुको आक्रामक कर्जा लगानीले सम्पत्तिको मूल्य मात्र वृद्धि गर्यो । सम्पत्तिको मूल्यमा आएको वृद्धिले अस्वभाविक आयात विस्तार भयो । सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा समेत कमी आउन थाल्यो । उच्च आयात र रेमिट्यान्स कमी आउँदा विदेशी विनिमय सञ्चितिमा अस्वभाविक दबाब पर्न गयो ।

नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार गर्न लिएको नीतिले आयात अस्वभाविक बढायो । त्यसका साथै मूल्य वृद्धिमा समेत दबाब पर्न थाल्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले उच्च आयात नियन्त्रण गर्ने र विदेशी विनिमय सञ्चितिको गिरावटलाई नियन्त्रण गर्ने नीति लियो । त्यसले पनि सुधारको संकेत नदेखिएपछि अनुत्पादक तथा उपभोग्य क्षेत्रका कर्जामा समेत कडाई गरेको गर्यो । यसले अर्थतन्त्रको गतिमा असर गर्ने भएपनि महङ्गी र विदेशी विनिमय सञ्चितिमा मद्दत पुग्ने अपेक्ष नेपाल राष्ट्र बैंकले गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पुससम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २८.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुले कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा बैंकहरुमा उपभोग्य कर्जाको माग उच्च भएकाले पनि कर्जा वृद्धिदर बढेको हो । सस्तो ब्याजदरमा सहज उपभोग्य कर्जा उपलब्ध भएपछि त्यसले आयात पनि बढाउन मद्दत गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “बैंकहरुका सस्तो दरमा उपभोग्य कर्जा पाएपछि त्यसले विलासीका वस्तुको आयात बढाएको छ,” उनले भने, “सेयर बजार घरजग्गाको मूल्यमा आएको वृद्धि तथा सस्तो ब्याजदरका कारण तत्काल गाडी नकिन्ने व्यक्तिहरुले पनि खरिद गरेको अवस्था छ, त्यसले अर्थतन्त्रमा नकारात्मक असर गर्यो ।”

अर्थतन्त्र नै समस्यामा जान सक्ने भएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जामा नियान्त्रण गर्ने नीति लियो । कर्जा प्रवाहको गतिलाई सुस्त बनाउन राष्ट्र बैंकले पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टा कर्जा निक्षेप अनुपात लागू ग्रयो । त्यसले पनि कर्जा प्रवाहको गति नियन्त्रण हुन सकेन । बैंकहरुले गरेको कर्जा लगानी आन्तरिक उत्पादन भन्दा पनि ब्यापार तथा अनुत्पादक क्षेत्रमा धेरै भयो । त्यसले आयातलाई प्रोत्साहन गर्यो । त्यसपछि केन्द्रिय बैंकले आयातमा नियन्त्रण गर्यो । त्यति मात्र नभई चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत अनुत्पादक क्षेत्रको कर्जाको जोखिम भार समेत बढाएको अवस्था छ ।

Bank 2078 Poush End Consumption loan Total loan Percentage 2077 Poush End Consumption loan Total loan  Percentage
NBL 33,952.27 172,824.42 19.65 16,036.06 120,076.19 13.35
RBB 62,813.21 213,893.47 29.37 22,584.77 170,610.26 13.24
NABIL 29,238.39 221,232.35 13.22 3,519.51 178,551.30 1.97
NIBL 11,537.20 179,236.42 6.44 2,894.86 148,436.12 1.95
SCBNL 15,165.48 88,284.13 17.18 4,829.41 56,601.66 8.53
HBL 11,251.21 159,141.56 7.07 2,513.52 115,281.48 2.18
NSBI 15,572.59 113,340.06 13.74 1,267.81 92,888.41 1.36
NBBL 12,295.53 78,049.89 15.75 1,259.79 62,797.26 2.01
EBL 30,732.66 152,381.40 20.17 3,766.71 119,830.99 3.14
BOK 16,553.13 108,742.12 15.22 7,146.12 92,131.59 7.76
NCC 10,375.93 119,465.41 8.69 2,359.55 83,600.73 2.82
NIC 101,073.69 273,458.04 36.96 10,998.89 233,080.94 4.72
MBL 26,657.35 133,528.53 19.96 2,913.69 107,197.52 2.72
Kumari 14,250.73 165,876.49 8.59 5,478.89 123,004.50 4.45
Laxmi 12,653.14 133,043.08 9.51 3,710.04 95,685.35 3.88
SBL 27,339.63 184,617.54 14.81 6,706.18 144,124.47 4.65
ADBNL 25,022.08 175,014.46 14.30 1,147.15 132,174.16 0.87
Global 62,007.46 271,026.02 22.88 9,636.53 215,690.04 4.47
Citizen 17,125.87 132,407.89 12.93 5,824.48 91,057.92 6.40
Prime 13,705.11 162,342.68 8.44 9,963.76 125,405.80 7.95
Sunrise 37,431.05 125,375.33 29.86 3,899.84 89,472.12 4.36
NMB 36,445.32 179,232.34 20.33 3,017.67 143,652.36 2.10
Prabhu 18,570.69 148,402.55 12.51 5,316.52 129,381.87 4.11
Mega 34,113.84 148,072.60 23.04 7,425.03 127,293.21 5.83
CBL 19,076.23 87,572.45 21.78 5,740.08 67,965.12 8.45
Century 18,968.67 88,170.96 21.51 4,089.35 72,282.56 5.66
Sanima 14,414.75 140,494.60 10.26 1,703.09 104,620.91 1.63
  728,343.21 4,155,226.79 17.53 155,749.30 3,242,894.84 4.80

 

कन्जम्सन कर्जाले अर्थतन्त्रमा नगद प्रवाहको गति बढाउन सहयोग गर्ने एक बैंकरले बताए । यसले उपभोक्ताको आर्थिक सन्तुलन कायम गर्ने तथा क्रय शक्तिमा समेत सद्दत गर्ने उनको भनाई छ । “यस्तो खालको कर्जालाई कडाई गर्दा आर्थिक गतिविधिमा सुस्तता आउने हुन्छ,” उनले भने, “नेपाल राष्ट्र बैंकले लिएको नीतिले अर्थतन्त्र कसिलो दिशामा जाने भएकाले लामो समय यस्तो खालको नीति कायम राख्नु हुँदैन ।”

राष्ट्र बैंकले घरजग्गा, गाडी तथा सेयर कर्जा मात्र नभई ओभरड्राफट र ट्रष्ट रिसिप्टलाई पनि उच्च जोखिममा राख्यो । राष्ट्र बैंकले ट्रष्ट रिसिप्टमा जोखिम भारित १२० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी घरजग्गा, गाडी, क्रेडिट कार्ड, ओभरड्राफ्ट र सेयर कर्जाको जोखिम भार भने १५० प्रतिशत कायम गरेको छ । यसभन्दा अघि ओभरड्राफ्ट कर्जाको जोखिम भार ७५ प्रतिशत थियो । त्यसैगरी अन्य कर्जाको जोखिम भार १०० प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पुस सम्ममा बैंकहरुले कुल ४१ खर्ब ५५ अर्ब कुल कर्जा लगानी गरेका छन् । यो कुल कर्जाको १७.५२ प्रतिशत अर्थात ७ खर्ब २७ अर्ब रुपैयाँ उपभोग्य क्षेत्रमा लगानी गरेका छन् । उपभोग्य क्षेत्र भन्नाले ओभारड्राफ्ट, व्यक्तिगत कर्जा, घर कर्जा, शैक्षिक कर्जा लगायतका शिर्षक समावेश हुने राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरुले ३२ खर्ब ४२ अर्ब कुल कर्जा प्रबाह गरेका थिए । यो कुल कर्जामा उपभोग्य कर्जाको हिस्सा ४.८ अर्थात एक खर्ब ५५ अर्ब रुपैयाँ मात्र थियो ।

चालु आवको यो अवधिमा सबैभन्दा धेरै उपभोग्य कजौ लगानी गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले चालु आवको पहिलो छ महिनामा एक खर्ब एक अर्ब रुपैयाँ उपभोग्य कर्जा लगानी गरेको छ । बैंकको यो कर्जा कुल कर्जामा ३६.९६ प्रतिशत हो । चालु आवको पुसम्ममा बैंकले कुल २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले उक्त शिर्षकमा करिब ११ अर्ब रुपैयाँ मात्र लगानी गरेको थियो । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले उपभोग्य कर्जामा ६२ अर्बका दरले ऋण लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।