सेबाेन अध्यक्ष र नेप्से प्रमुखको अगाडि अर्थमन्त्रीले भने, “इन्साइडर ट्रेडिङ्ग मान्य हुनेछैन”

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारका दुई नियामक निकायका नवनियुक्त प्रमुखहरुलाई पूँजी बजारको क्षेत्रमा देखिएका समस्या समाधानको सुधार गर्न निर्देशन दिँदै इन्साइडर ट्रेडिङ्ग मान्य नहुने चेतावनी दिएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित पूँजी बजारको वर्तमान अवस्था सम्बन्धी छलफलमा उनले विगतमा नेप्से र धितोपत्र बोर्डका प्रमुखहरु इन्साइडर ट्रेडिङमा लागेकाले हटाएको उल्लेख गर्दै भने, “इन्साइडर ट्रेडिङ्गको कुरा मान्य हुनेछैन, सर्कुलर ट्रेडिङ्गको मान्य हुनेछैन, डम्पिङ्ग हुने कुरा मान्य हुने छैन ।”

पूँजीबजारमा घट्ने घटनाबाट अर्थमन्त्रालय समेत आरोपित हुँदै आएको विगत सम्झाउँदै अर्थमन्त्रीले शर्माले भने “नियमनकारी निकायको नेतृत्वमा तपाईहरु हुनुहुन्छ, अर्थमन्त्रालयले यसो गर्यो, अर्थमन्त्रीले यसो गर्यो भन्ने कुरा म सुन्न चाहन्न, त्यो जिम्मेवारी मन्त्रीको पनि होइन, त्यसको जवाफ तपाइहरुले सुधारबाट दिनुहोस्, लगानीकर्ताको संरक्षणबाट दिनुहोस्, उनीहरुलाई गर्ने सहजीकरणबाट दिनुहोस् कि गुनासा हामीले सुन्न नपरोस् ।”

उनले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई पूँजी बजारमा सुधार गर्न र लगानीकर्तालाई शिक्षा सहित कारोबारमा अगाडि बढ्नका लागि कति नीति नियम चाहिन्छ सो अनुसार बनाउन अगाडि बढ्न निर्देशन दिए । 

यस्तै नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई लगानीकर्ताले रियल टाइममा नै डेटा पाउन नसकेको, साापट लिएर पनि बेच्न पाउने व्यवस्था सर्ट सेलिङ र सेटलमेन्ट ग्यारेन्टी फण्डको जस्ता गुनासाहरु मन्त्रालयमा आउने गरेको भन्दै नेप्सेको कारोबारलाई प्रभावकारी बनाउन निर्देशन दिए । शर्माले भने, “लगानीकर्ताले चाहेको बेला रियल टाइममा नै डेटा पाउने, साापट लिएर पनि बेच्न पाउने, सापटी लिएर बिक्री गर्नका लागि सेलटमेन्ट फण्डको निमार्ण जस्ता व्यवस्था कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुहोस् ।”

उनले दुबै संस्थाका प्रमुखलाई पूँजी बजारमा आएको पैसालाई उत्पादनशील क्षेत्रमा कसरी लगाउन सकिन्छ त्यतातिर ध्यान दिन निर्देशन दिएका छन् । पूँजी बजारमा आएको रकम उत्पादन तथा पुर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै यो क्षेत्रका लागि आवश्यक पर्ने २० अर्ब हाराहारीमा लगानीका चाहिने बताउँदै उनले त्यसको एउटा हिस्सा पूँजी बजारबाट आउनुपर्ने उल्लेख गरे ।

उनले आफुहरुले गर्ने कार्ययोजना मन्त्रालय र लगानीकर्ताहरुलाई जानकारी गराउन समेत उनले दुबै नेतृत्वलाई निर्देशन दिएका छन् । पूँजी बजारको समस्या समाधान तथा विकास लागि आवश्यक सबै कार्य गर्नका लागि सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको उनले बताए ।

दुबै संस्थाका प्रमुखहरुलाई कसैको दबाब तथा प्रभावमा नपरि स्वतन्त्र भएर काम गर्न समेत आग्रह गर्दै पूँजी बजारमा सुधार गर्न र लगानीकर्तालाई शिक्षा सहित पूँजी बजारमा सहभागि हुनका लागि के के नीति नियम चाहिन्छ सो अनुसार अगाडि बढ्न अर्थमन्त्री शर्माले आग्रह गरे । छनौट भएर आएका नवनियुक्त नेप्सेका सीईओ र बोर्डका अध्यक्षले कुनैपनि दबाबबाट प्रभावित नभएर स्वतन्त्र रुपमा संस्थाको पक्षमा काम गर्ने विश्वास आफुले लिएको बताए ।

साथै अर्थमन्त्रीले हाल प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ताकोे संख्या ५० लाख नाघिसकेकाले सीमित लगानीकर्ता हुँदा निमार्ण गरेको सफ्टवेयरले लगानीकर्ताको संख्या बढ्दा नधान्ने अवस्था आइसकेको भन्दै संरचनागत सुधार गर्नतर्फ लाग्न आवश्यक रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।