नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाण आधा कटौती गरेको छ ।
आइतबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले सुन आयातको कोटा दैनिक १० किलोग्राममा झरेको हो ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।
संसोधित व्यवस्था अनुसार अब अन्तर्राष्ट्रिय बजारबाट बैंक तथा वित्तीय संस्थाहरुले दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाउनेछन् । हाल दैनिक २० किलो सुन आयत हुँदै आएको थियो ।आयात कोटा आधा घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा पर्ने भएको छ ।
घट्दो विदेशी विनिमय सञ्चिती र रुस–युक्रेन युद्धले पछिल्लो परिवेशका कारण सुनको भाउ तोलाको आइतबार एक लाख रुपैयाँ पुगेको छ ।आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १ हजार ४०० रुपैयाँ तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा पुस मसान्त आइपुग्दा १६.७ प्रतिशत अर्थात २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँले घटेर ११ खर्ब ६५ अर्ब ८० रुपैयाँमा झरेको छ ।
यस्तै २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलरमा सञ्चिति रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले घटेर ९ अर्ब ८९ करोड डलरमा झरेको छ । सुन आयातमा विदेशी विनिमय सञ्चितिको ठूलो हिस्सा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया