
राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि विजक जारी गरेर कर छली गर्ने सौगात इन्टरनेशनलका सञ्चालक विरुद्ध १६ करोड ४३ लाख रुपैयाँ बराबरको विगो र सजायको माग दाबी सहित मुद्दा दायर गरेको छ ।
विभागले गरेको अनुसन्धानबाट उक्त फर्मले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको पुष्टि भएपछि चैत २ गते बुधबार मुद्दा उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरेको हो ।
उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि विजक लिई वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी मूल्य अभिवृद्धि तर्फ क्रेडिट दाबी गरी तिर्नुपर्ने भ्याट नितिरे र आयकर तर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेको विभागले जनाएको छ ।
उक्त फर्मले भ्याटतर्फ २ करोड ५२ लाख ५४ हजार र आयकर तर्फ ५ करोड ६९ हजार ५८ हजार गरी कुल ८ करोड २१ लाख २१ हजार ६४१ रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि हुन आएको जनाएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३ (१) बमोजिम प्रतिवादीहरु दिपक कुमार देउजा र मोहन प्रसाद भट्टराईसँग विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना र त्यति नै विगो सहित कुल १६ करोड ४३ लाख ४५ हजार रुपैयाँ असुल उपर गर्न माग गरिएको छ ।
यस्तै लेखापरीक्षक सुनिलमान शाक्यको हकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३ को उपदफा (३) बमोजिम मतियारलाई हुने सजाय हुने मागदाबी लिई अभियोग पत्र दायर गरिएको छ ।
उक्त फर्मका प्रोपराइटर दिपक कुमार देउजा, खाता सञ्चालक मोहन प्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यलाई विपक्षी बनाएर मुद्दा चलाएको हो । प्रोपराइटर देउजा भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका वठा नम्बर १० देउजागाँउ, भट्टराई चितवन कालिका नगरपालिका वडा नम्बर ५ र लेखापरीक्षक शाक्य काठमाडौं महानगरपालिका वडा नम्बर २१ लगनटोलका स्थायी बासिन्दा हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया