.jpg)
नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ८३ अर्ब २१ करोड लगानी गरेको छ ।
कोषको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
कोषको ३२ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आवको ६ महिनासम्ममा काेषले १ खर्ब ८३ अर्ब २१ करोड लगानी गरेको जानकारी दिएका हुन् ।
कोषको लगानीमध्ये सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ । २०७८ पुससम्म कोषले एक खर्ब पाँच अर्ब ९१ करोड रुपैयाँ मुद्दत्ती निक्षेपमा लगानी गरेको हो । यो रकम कुल लगानीको आधाभन्दा बढी अर्थात करिब ५८ प्रतिशत हुन आउँछ ।
मुद्दती निक्षेपपछि कोषको दोस्रो ठूलो लगानी सहभागी सापटी तथा आवास कर्जामा रहेको छ । पुससम्म कोषले यस शीर्षकमा ३६ अर्ब १ करोड (कुल लगानीको करिब २० प्रतिशत) लगानी गरेको छ । यसपछि समयकालीन कर्जामा २१ अर्ब ६४ करोड (कुल लगानीको १२ प्रतिशत) रुपैयाँ लगानी गरेको छ ।
यस्तै नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्त सङ्गठित संस्थाको सेयर र धितोपत्रमा १६ अर्ब ७३ करोड (कुल लगानीको ९ प्रतिशत) रहेको छ भने सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड (कुल लगानीको एक प्रतिशत) रुपैयाँ बराबरको लगानी रहेको छ ।
पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थपना गरी सञ्चालनमा ल्याइसकेको छ । स्टक डिलरमा कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो । स्टक डिलरले पूँजी बजारको विकास, विस्तार र विस्वसनीयतामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
चालु आवको ६ महिनामा कोषको खुद कोष मौज्दात १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथ साथै लगानीका अवसरहरु बढाउन तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखेर स्थापना भएको कोषले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विश्वासिलो स्रोतका रुपमा समेत कार्य गर्दै आइरहेको छ ।
उक्त उद्देश्य प्राप्तीका लागि कोषले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी÷कामदार तथा संगठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ ।
कार्यकारी निर्देशक नेपालले कोषले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकतामा राखी कोषले लगानी गर्दै आएको बताए । आगामी दिनमा कोषको लगानी पूर्वाधार विकासका क्षेत्रमा बढाउने उनको भनाई छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि कोषलाई बैंक तथा व्त्तिीय संस्थाको मुद्दती निक्षेपमा रकम नराखी विकास पुर्वाधारको आयोजनामा लगानी बढाउन सुझाव दिएका थिए ।
बाह्र योजनामा आठ लाखभन्दा बढी सहभागी
विसं २०४८ माघ १ गते स्थापना भई कारोबार सुरु गरेको नागरिक लगानी कोषले विभिन्न १२ वटा योजना मार्फत आठ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराएको छ ।
कोषले विभिन्न सात प्रकारका योजना सञ्चालनमा ल्याएको छ । कोषले कर्मचारी बचतवृद्धि कार्यक्रम स्वीकृत अवकाश कोष योजना, अवकाश कर्जा, राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकाङ्क योजना र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।
कोषले आफ्नो सेवा देशभर विस्तार गर्दा सञ्चालनमा ल्याएका योजनामा सहभागी हुने सम्भावना भएका संघ संस्थालाई आवद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्नरगराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं बाहिर समेत शाखा विस्तार गरेको छ ।
कार्यकारी निर्देशक नेपालका अनुसार हाल कोषको विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । आगामी वर्ष सुदूरपश्चिमको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यालय विस्तारको काम सुरु गरिसकेको र आगामी वर्ष थप २ वटा शाखा कार्यालय विस्तार गरी प्रदेश कार्यालयको रुपमा स्तरवृद्धि गरी सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए ।

नागरिक लगानी कोष मुलुकमा प्रजातनत्र प्राप्त भएपश्चात २०४७ चैत्र ४ गते (१८ मार्च, १९९१) एक स्वायत्त निकायको रूपमा स्थापित भएको थियो । कोषले २०४८ माघ १ गते (१५ जनवरी, १९९२) देखि औपचारिक रूपमा आफ्नो गतिविधिहरू सञ्चालन गर्दै आएको छ । कोषले विभिन्न प्रकारका सेवानिवृत्ति योजनाहरू, कार्यक्रमहरू साथै विभिन्न एकाइ योजनाहरू र म्युचुअल फण्ड कार्यक्रमहरू सञ्चालन र व्यवस्थापन गर्दछ । कोषले पूँजी बजारमा मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, सेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य समेत गर्दै आएको छ ।
नागरिक लगानी कोष (नागरिक लगानी कोष), नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गतको एक वैधानिक संस्था, सार्वजनिक वित्तीय संस्थाको रूपमा नेपाल सरकारको स्वामित्वमा छ । कोषमा राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल सरकार २३.३४ प्रतिशत, सर्वसाधारणको २० प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरुको १५.११ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को १० प्रतिशत र सेयर स्वामित्व छ । कोषमा नेपाल राष्ट्र बैंकको समेत १३ प्रतिशत लगानी रहेकोमा केही समयअघि राष्ट्र बैंक कोषबाट बाहिरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया