महिलाको मेरुदण्ड बनेको ‘डाँफे वर्क’, विदेशमा पनि लोकप्रिय बन्दै

0
Shares

भुइचालोपछि जन्मिएको डाँफे वर्क महिलाहरुका लागि एक मजबुत स्तम्भ बनेर उभिएको छ । जसले महिलाहरुलाई स्वरोजगार हुने अवसर प्रदान गर्नुका साथै रोजगारी समेत दिएको छ ।

डाँफे वर्क अन्य ब्रान्ड जस्तो व्यवसायिक ब्रान्ड बनाउने अर्थात व्यवसाय गर्ने सोचले स्थापना भएको होइन । यो संस्था भुकम्प पछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले सुरु भएको एउटा प्रोजेक्ट हो । हाल यो संस्था सोसल इन्टरप्राइजेजको रुपमा दर्ता भएको छ ।

काठमाण्डौको भिमसेनस्थानमा २०४१ सालमा जन्मिएका विजेस रन्जित व्याचलर सम्मको पढाइ सकेर मास्टर पढ्नका लागि अमेरिका गएका थिए । सन् २००७ मा मास्टर पढ्न अमेरीका गएका रन्जितले पढाइ सकीएपछि करिब ३ वर्ष दुई वटा कम्पनीमा काम गर्न थाले । कामको दौडानमा उनले मेक्सीको, यूरोप लगायत एसियाका निकै देशहरुमा पुगे ।

उक्त ३ वर्षे काम सकिएपछि रन्जित देशमा नै केही गर्ने सोचका साथ यूटर्न भए नेपाल । सोसल वर्कमा व्ययाचलर पढ्दै गर्दा रन्जित र उनका केही साहीहरु मिलेर ‘साथ’ संस्था स्थापना गरेका थिए । जुन अहिले पनि संचालन भइरहेको छ । “त्यही संस्थामा फेरी फर्केर काम गर्ने हिसाबले म फर्किए र काम गरे, अहिले पनि गर्दैछु ।” रन्जितले भने ।

साथ संस्था एक एनजिओ हो । जुन सन् २००४ मा स्थापना भएको हो भने औपचारिक रुपमा सन् २००६ बाट सुरु गरीएको हो । यस संस्थाले विशेष पिछडीएका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्छ ।

डाँफेको उदय

साथ संस्थाबाट महिलाहरुसंग काम गरिरहेका थिए । त्यसै समय अर्थात २०७२ सालमा नेपालमा महाभुकम्प आयो । उक्त समय राहात वितरण गर्ने धेरै मानिस तथा संस्थाहरु थिए । रन्जितहरुको टिमले पनि राहात वितरणको काम गरिनै रहेको थियो । राहात वितरणको काम एउटा लेवलमा पुगिसकेको थियो । तर रन्जितहरुले भुकम्प प्रभावित क्षेत्रहरुमा सकारात्मक प्रभाव पर्ने गरि केही दिगो काम गर्ने सोचे र डाँफे भन्ने एउटा प्रोजेक्ट सुरु गरे । त्यहि डाँफे वर्कका वोर्ड अफ डाइरेक्टर हुन रन्जित ।

उक्त प्रोजेक्टमा ५ जना महिलाहरुलाई सहभागी गराए र सिलाई बुनाइ तालिम दिए । “तालिम पछि उनीहरुले आफ्नो स्किल प्रयोग गरेर व्यापार गर्न सक्ने क्षमता बनाउने हिसाबले हामीले सुरु गरेका थियौँ ।” रन्जित भन्छन्“ ति ५ जना बहिनीहरुले तालिम सकिएपछि प्रोडक्ट पनि बनाउन थाल्नु भयो, ती प्रोडक्टहरु हामी सानो तिनो बजारमा लगेर बेच्थ्यौँ । त्यसमा राम्र्रो प्रतिकृया आउन थालेपछि डाँफेलाई प्रोजेक्ट मात्र होइन इन्टरप्राइजेज अर्थात व्यवसायिक निरन्तरता दिने भनेर सुरु गर्यौ डाँफे वर्क ।”

पाँच जनाबाट सुरु भएको तालिम भुकम्प प्रभावित क्षेत्र अर्थात विशेष सिन्धुपाल्चोक, मकवानपुर र काभ्रेका करिब २४३ जना महिलाहरुले पाए । “तालिम दिइसकेपछि ति महिलाहरुलाई कुनै न कुनै रुपमा व्यवसायमा जोड्नुपर्छ भनेर डाँफे सुरु गरिएकको हो । ” रन्जितले भने ।

डाँफे सन् २०१७ बाट औपचारिक रुपमा दर्ता भएर सुरु भएको हो । तालिम पाएकाहरु मध्य सबैलाई डाँफेमा आवद्ध गराउन सकिने अवस्था थिएन । तर तालिम पाएका मध्य कोही कोहीले डाँफेमा आवद्ध भएर काम गर्ने अवसर पाउँथे ।

डाँफे वर्क व्यवसायिक हिसाबले पूँजी खडा गरेर स्थापना गरिएको संस्था होइन । यो १२ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको एउटा प्रोजेक्ट थियो । जुन अहिले व्यवसायिक नेपाली ब्रान्ड बनेको छ । यस संस्थामा अहिले ५ जना बोर्ड मेम्बरहरु रहेका छन् । जो पहिला साथ संस्थामा स्टाफ, कि मेम्बरका रुपमा थिए ।

डाँफेले के के उत्पादन गर्छ ?

यस कम्पनीले स्थापना कालमा ब्याग मात्र उत्पादन गर्दै आएको थियो । तर अहिले डाँफेले विशेष महिलाहरुलाई हुने स्ट्रिट वेयर, टिसर्ट, हुडीज, ब्याग, कुर्ती, टप्स लगायतका सामाग्री उत्पादन गर्छ ।

डाँफेले हाल नेपाली फ्याब्रिकलाई विशेष महत्व दिइरहेको छ । नेपालमा नभएका केही फ्याब्रिकहरु भारत र वंगलादेशको पनि प्रयोग गर्ने गरेका छन् । यस कम्पनीले उत्पादनगर्ने सामाग्री न्यूनत ३०० रुपैयाँ र अधिकतम ९ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेका छन ।

रोजगारी र आम्दानी

रन्जितका अनुसार साथ संस्थाबाट तालिम पाएकाहरुलाई रोजगारीका लागि विशेष प्राथामिकता दिने गरिन्छ । डाँफेले त्यस्ता तालिम पाएकाहरुलाई करिब २ वर्षसम्म काम गर्ने अवसर दिने गरेको छ ।

दुई वर्ष पनि उनिहरुलाई रिफे्रस गरिन्छ र फेरी नयाँलाई ल्याइन्छ । “त्यसले गर्दा उहाँहरुले एउटा स्किल पाइसकेपछि कही गएर काम गर्न सकोस ।” रन्जित भन्छन् “एउटैलाई हामी लामो समय सम्म राख्दैनौ । तर एक दुई जना चाँही पहिला देखि नै कामगर्दै आउनु भएको बहिनीहरु पनि हुनुहुन्छ । जसले सबै प्रोडक्सनको कामहरु हेर्दै आउनु भएको छ ।”

डाँफेमा काम गर्ने कामदारहरु मध्य करिब ८५ प्रतिशत महिला छन् भने बाँकी पुरुष रहेका छन् । अहिले डाँफेमा २१ जना कार्यरत छन् ।
रन्जितका अनुसार हाल मासिक २ देखि ३ लाख सम्मको कारोबार हुने गरेको छ । तर कहिलेकाँही ५ देखि ८ लाख सम्मको पनि कारोबार हुने गर्दछ । साथै डाँफेले विभिन्न कम्पनी, संस्था, बैंक, इन्टिच्यूट लगायतमा अर्डर लिएर सो अनुसार सामाग्री बनाउने काम पनि गर्दै आएको छ ।

बाहिर पनि निर्यात

डाँफे वर्कले आफुले उत्पादन गर्ने विभिन्न सामाग्रीहरु विदेशममा पनि निर्यात गर्ने गरेको छ । कम्पनीले अहिले अष्ट्रेलिया, स्पेनमा उत्पादन भएको विभिन्न सामाग्री निर्यात गर्दै आइरहेको छ, भने यूकेमा पनि पठाउने तयारी भइरहेको छ ।

नेपालमा डाँफेका सामाग्री नक्सालमा रहेको पसलबाट बिक्री गर्दै आइरहेको छ । कोभिडका कारण झम्सिखेलमा रहेको पसल बन्द भएको र पुनःखोल्ने तयारी भइरहेको पनि रन्जितले बताए ।

व्यवसायिका आफ्ना आफ्नै विशेषता हुन्छन् । कसैले आफ्नो उत्पादनको गोटालाई मात्र वृद्धि गर्छन भने कसैले गुणस्तरलाई विशेष प्राथामिकता दिने गर्छन् । यस्तै गरी डाँफे वर्कले पनि आफ्नो उत्पादनको गुणस्तरलाई विशेष स्थान दिने गरेको छ । रन्जित भन्छन् “हाम्रो मेन मोटो नै त्यही हो, हामी क्वानटिटी भन्दा पनि क्वालिटी मै काम गछौँ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ चैत्र २०७८, शनिबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।