
रुस र यूक्रेन बीचको द्धन्द्धको असर नेपाली सुन बजारमा पनि देखिएको छ । दुई देश बीचको युद्धका कारण सुनको मुल्यमा निरन्तर बढेपछि सुनको कारोबार ठप्प सरह भएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गरिएको छ । नेपाली बजारमा एक महिना अघिबाट सुनको मूल्य आकासिँदा त्यसको प्रत्यक्ष असर उपभोक्ता तथा व्यापारीमा परेको हो । एकातिर व्यापार नभएर व्यापारी चिन्तीत छन् भने अर्कातिर सुन किन्नै नसक्ने अवस्थामा उपभोक्ता छन् ।
बैशाख महिना विवाहको सिजन भएकाले विगतका वर्षहरुको यो अवधिमा सुन पसलहरुमा गरगहना बनाउन अग्रिम अर्डरहरु आउँथे । चैत्र महिनाको २० गतेपछि विवाहका लागि गरगहना बनाउनेहरुको भीड देखिन्थ्यो । तर यस वर्ष रुस र युक्रेनको द्धन्द्धका कारण अस्वभाविक मूल्य बढ्दा सुन पसलहरु सुनसान छन् ।
करिब एक महिना अघि देखि सुनको मूल्य प्रतितोला एक लाखको वरिपरी छ । जसले गर्दा बैशाख आउन लाग्दा पनि कारोबार नभएको व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्रचार्यका अनुसार हाल नेपाली बजारमा निकै कम कारोबार हुने गरेको छ ।
“एक महिना देखि सुनको कारोबार छँदै छैन, अहिले बजारमा सुनको माग ५ किलो पनि छैन,” बज्रचार्य भन्छन्, “अहिले तत्कालै विवाहको सिजन पनि छैन, अब अझै १५/२० दिन सायद यस्तै अवस्था हुन्छ होला ।”
यस्तै यति बेला बैंकर संघमा आजको मूल्य अनुसार साढे ७४ करोड रुपैयाँ भन्दा धेरैको सुन स्टकमा रहेको छ । संघका अनुसार गत शुक्रबारको मूल्यका आधारमा संघमा ७४ करोड ३६ लाख ५७ हजार ६८३ रुपैयाँ बराबरको ८७ किलो सुन स्टक छ ।
पाँच वर्षमा ४४ हजार रुपैयाँले बढ्यो सुनकाे भाउ
पछिल्लो पाँच वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा ४४ हजार रुपैयाँ धेरैले बढेको छ । विसं २०७३ साल चैत्र २१ गतेको तुलनामा २०७८ चैत्र १ गतेसम्म आइपुग्दा प्रतितोला सुनको मूल्य ४४ हजार २०० रुपैयाँले बढेको हो ।
उक्त समय नेपाली बजारमा सुन प्रतितोला ५४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । २०७८ चैत्र २१ गते आइपुग्दा सुन भाउ प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया