सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण गभर्नर हटाइयोः पूर्व अर्थमन्त्री पौडेल

0
Shares

पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नका लागि स्पष्टिकरणको अभ्यास गरिएको बताएका छन् ।

देशको अर्थ व्यवस्थाबारेमा एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले सरकारको गलत नीतिको मुकाबिला गर्ने, सामाना गर्ने तर्कयुक्त ढंगले सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गर्ने पोजिसनमा रहेकै कारणले गर्दा गभर्नरलाई हटाइएको बताएका हुन् ।

सरकारको निर्णयले मुलुकको अर्थतन्त्रलाई अरु धरासायी बनाउने दाबी गर्दै उनले गभर्नरमाथि स्पष्टिकरण सोध्ने कार्य व्यक्तिमाथि भन्दापनि प्रणाली स्थापित गर्ने संस्थाको प्रमुखमाथि गरिएको हस्तक्षेप रहेको बताए ।  पौडेलले भने, “सरकारका अबान्छित आकांक्षहरुलाई पूरा गर्नका लागि उहाँ सहयोगी बन्नुभएन, खासगरी सरकारले वित्त नीतिमा जुन प्रकारको हस्तक्षेप गरेको छ, त्यो हस्तक्षेपले नेपालको अर्थतन्त्रलाई जुन दिशामा धरासायी गर्ने सम्भावना छ ।”

अहिले नकारात्मक कदम चाल्ने काम भएको भन्दै पौडेलले आफ्नो अभिव्यक्तिको क्रममा उनले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देशलाई श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने दाबी गरे । पौडेलले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै संकट हुनबाट रोक्न नकस्ने बताएका हुन् ।

पौडेलले वर्तमान सरकारले मौद्रिक नीतिमा ल्याउन समेत राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको बताए । गत आवको पहिलो ७ महिनामा १०४ अर्बले घाटा रहेको चालु खाता यो वर्ष ४१४ अर्ब पुगेको छ । जुन कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको हाराहारीमा पुग्ने र नेपालको अर्थतन्त्र नै गम्भिर संकटतर्फ धकेलिने खालको जोखिम रहेको उनले दाबी गरे ।

बाह्य कारोबारमा भुक्तानी असन्तुलन भयावह, फागुन मसान्तसम्मा २६० अर्ब तथा विदेशी विनियम सञ्चिति समेत उल्लेख्य घटेको तथ्याङ्क प्रस्तुत गरे । गत वर्ष माघसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ८५.०५ प्रतिशतले घट्दा पनि रेमिट्यान्स झण्डै ११ प्रतिशतले बढेपनि चालु आवको यसै अवधिमा श्रमिकको संख्या ५६ प्रतिशतले बढेपनि रेमिट्यान्स आप्रवाह भने ५ प्रतिशतले घटेको उनले तथ्याङ्क प्रस्तुत गरे । यसको पछाडि सरकारले अबलम्बन गरेको नीति जिम्मेवार रहेको उनको भनाई छ ।

यस्तै हाल वैदेशिक सहायता अत्यन्तै निराशाजनक, ब्यापार घाटामा छलाङ मारेको, न्यून विजकीकरण, मौलाउँदो हुण्डी कारोबार, अनियन्त्रित आयात वृद्धि, सरकार बनेदेखि नै तरलता, अभाव, ब्याजदर वृद्धि हुँदा वित्त प्रणालीमा अनिश्चय उत्पन्न भएको बताए ।

उनका अनुसार सुरुको ९ महिनामा १५ खर्ब बढीको आयात भैसकेकाले वर्षको अन्त्यसम्म २२ खर्ब पुग्नसक्ने देखिएको छ । अघिल्लो आवको तुलनामा मूल्यवृद्धि पनि २ गुणाले बढेको छ । पूँजीगत खर्च निराशाजनक छ । पहिलो ७ महिनामा २५ प्रतिशत रहेको छ । यहि अवस्था रहे चालु आवको अन्त्यसम्म ५० प्रतिशत पनि नाघ्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था रहेको उनले बताए । अर्थनीति र वित्त नीतिबीच समन्वयको अभाव तथा आस्था र आबद्धताका आधारमा पदस्थापनाले पनि अर्थतन्त्रमा असर पुर्याएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७८, आइतबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।