अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

0
Shares

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

आइतबार बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार बसेको बैठकले गाडी, सुनचाँदी सहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइल लगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत्प्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो । यस्तैगरी, गत सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।

ब्याज नबढाउने सहमति

आइतबार बसेको सङ्घले बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।