लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ, कमाउ धन्दामा फस्नु भएन

0
Shares

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए ।

उनले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाई गर्नुपर्ने बताए । “नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको साथर्ककता होइन । लघुवित्त कमाउ धन्दामा फस्नु भएन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२÷२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले संख्यात्मक बृद्धि गर्न सदस्य खोसाखोस नगरौं” उनले भने । बहुँकर्जाले लघुवित्तलाई अल्मल्याएको उनको भनाई छ ।

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे । ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभावी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनले बताए । उनले अरुको भड्काउन नलाग्न आग्रह गरे । “अरुको खुट्टामा उभिने होइन । हामी आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । आत्ममूल्यांकन गरौं, हामी सक्षम छौं, गन्तव्यमा पुग्छौंं” उनले भने ।

उनले लघुवित्तहरु स्वःनियमनमा बस्नुपर्ने आवश्यकता औल्याए । “पुरानो ढर्राबाट अब चल्न हुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्न हुँदैन । स्वः नियममा बस्न अरुले निर्देशन दिन पर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नु पर्दैन” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १३ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।