पौने १४ अर्बको सार्वजनिक निष्काशन अनुमति, १४३ अर्बको धितोपत्र सूचीकृत

0
Shares

चालु आर्थिक वर्ष २०७८।७९ को आठ महिना अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका अधारमा फागुन मसान्तसम्ममा बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको छ । सार्वजनिक निष्काशनका लागि अनुमति पाएका धितोपत्रको कुल रकम १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको रहेको छ ।

यसैगरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड रुपैयाँ बराबरको बोनस सेयर, २९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएका छन् । यी धितोपत्रको कुल अंकितमूल्य १ खर्ब ४३ अर्ब ५८ करोड बराबरको रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनासम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रहेको छ । २०७८ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेकोमा ११ वटा बढेको हो ।

२०७८ फागुन मसान्तमा धितोपत्र बजार पँुजीकरण ३७ खर्ब ८२ अर्ब ७९ करोड पुगेको छ । २०७७ फागुन मसान्तमा बजार पूँजीकरण ३३ खर्ब ८७ अर्ब ३४ करोड रहेको थियो । समीक्षा अवधिमा ३ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँले बजार पूँजीकरण बढेको हो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीह?को हिस्सा १०.३ प्रतिशत रहेको छ ।

विसं २०७७ फागुन मसान्तमा २४५८.५ रहेको नेप्से सूचकाङ्क २०७८ फागुन मसान्तमा २६६८.१० पुगेको छ । यस अवधिमा नेप्से २०९.६० अंकले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।