सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंक परिसरमा कालो ब्यानर झुण्डाउँदै कोण सभा गरेको छ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाईएको कालो व्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महा प्रसाद अधिकारी माथि सुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।

कालो ब्यानर झुण्डाउनु अघि कोण सभालाई संबोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य सञ्चालकहरू वित्तीय प्रणालीको दुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए ।
हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।
यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफहरुसँग भएको बताउँदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे
उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, बरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया