भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरको हुने

0
Shares

गत बिहीबारदेखि सञ्चालनमा आएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाका दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ।


उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको हो। त्यसको भोलिपल्ट नेपालबाट यात्रु लिएर कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले बताए। पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन्।

एउटा मात्र रनवेले कारण ट्राफिक हुनेगरेकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए। उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित छन्।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने ३ हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए। ‘धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ,’ उनले भने।

उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ। अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।