नेपाल राष्ट्र बैंकले १८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत बैंकले बैशाख १२ गते सोमबार ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिन अवधिको ५ अर्ब बराबरको र ९१ दिन अवधिको १३ अर्ब ६० करोडको गरी कूल १८ अर्ब ६० करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरीमध्ये ५ अर्ब रुपैयाँ बराबरको नयाँ बिल निष्काशन गर्न लागेको हो भने ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ९१ दिन अवधि र ५ अर्ब रुपैयाँ बराबरको २८ दिनको ट्रेजरी बिलभ ने यसअघि जारी भैसकेको बिल नै नवीकरण गर्न लागेको हो ।
बैंकले आइतबार जारी गरेको सूचना अनुसार २८ दिने ट्रेजरी आगामी जेठ १० गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी साउन १० गते परिपक्व हुनेछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबुल गर्नेलाई राष्ट्र बैंकले बैशाख १३ गते मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
यसअघि बैंकले बैशाख ५ गते १० अर्ब २० करोडको टे«जरी बिल बिक्री गरेको थियो ।
ट्रेजरी बिल के हो ?
मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो ।
बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट विसं २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ ।
यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ ।
सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन्। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया