किताब पढ्न फुर्सद छैन, तीन दिनभित्र बुँदागत रुपमा सुझाव दिनुहोस्ः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने अन्तिम अन्तिम चरणमा रहेकाले निजी क्षेत्रका प्रतिनिलिाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफ्नो सम्बोधन सकाएर कार्यक्रमबाट हतार हतारमा बाहिरिएका अर्थमन्त्रीले व्यवसायीको सुझावलाई सम्भव भएसम्म अत्यधिक प्रयत्न गरेर सम्बोधन गर्ने बताउँदै भने, “किताब पढ्ने समय छैन, पढ्न सक्दैनौं हामी। ठ्याक्कै ठ्याकै दिनुहोस् बुँदा, फुटवेयर जस्ता आफैँ आत्मनिर्भर हुने क्षेत्रमा यहि अनुसारको नीति बन्नुपर्यो भनेर सुझाव दिनुहोस् । यसरी दिनुभयो भने त्यसबारेमा हामी छलफल गरेर स्वदेशी उत्पादन वृद्धि हुने नीति पक्कै पनि बनाउँछौं ।”

कार्यक्रममा १६ मिनेट मन्तव्य दिएका अर्थमन्त्रीले उद्योगीहरुलाई बजेट अगाडि नै आफुहरुलाई परेको समस्या तथा अप्ठेरोहरुबारे लामो छलफल गरेर तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेका हुन् । उनले भने, “कार्यक्रम आयोजना गरेकोमा धन्यवाद, अहिले नै कार्यक्रम समापन नगर्नुहोस, छलफल गर्नुहोस् तपाईहरु, हामीलाई मात्र विदा गर्नुहोस् र बनाउनुहोस् बुँदा, सबैका सुझाव लिनुहोस्, तीन दिनभित्र हामीलाई दिनुहोस् ।”

उनले उद्योगीलाई कुन कुन उद्योगमा कुन कुन कच्चा पदार्थमा बढी कर लागेर तयारी मालवस्तुभन्दा महङ्गो परेको छ त्यसको विवरण उपलब्ध गराउन समेत आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले अर्थमन्त्रालय राजश्व उठाउन रोइकराई गर्ने र व्यवसायीहरु घटाउन रोइकराई गर्ने दुईटै कुरा ठीक नभएको धारणा राखे । यसले देशको प्रगति हुन नसक्दे बताउँदै उनले भने, “मन्त्रालय कसरी राजश्व बढाउने, कसरी च्याप्ने, कसरी कस्ने र कसरी बाँड्ने कुरा गर्ने अनि व्यवसायी कसरी कम गर्ने कसरी छुट गर्ने, कसरी फुत्कने, कसरी नतिर्ने गर्ने । यो कुराबाट हामी मुक्त हौउँ, दुईटै कुरा बेठिक छ ।”

सरकार व्यवसायीहरुलाई व्यवसायीक वातावरण अनुकुल परिस्थति तयार गर्ने, सुविधा उपलब्ध गराउने कुरामा सरकार तयार रहेको बताउँदै मन्त्री शर्माले बुँदागत रुपमा स्पष्ट खाका सहित सुझाव दिन आग्रह गरे । उनले भने, “एक दुई तीन चार उद्योगमा यो यो समस्या छ भनेर चाहियो । समय एकदमै छोटो भैसक्यो । बजेट निर्माण गर्ने अन्तिम अन्तिम चरणमा छौं । तीन दिनभित्र सुझाव दिनुहोला । पछि ओहो मेरो यस्तो उद्योगमा यस्तो समस्या भयो भन्न कोही नआउनुहोला, अहिले आएर दिनुहोस् । त्यो उद्योगले हाम्रो माग परिपूर्ति हुन्छ कि हुँदैन, त्यो पनि चाहियो । त्यो सहित यो उद्योगले यसो गर्दा पूर्ति हुन्छ भन्ने सहित दिनुहोस् ।”

व्यवसायीले कहाँ कहाँ कानुनी, नीतिगत, समस्याहरु छन्, कहाँ प्रशासनिक जटिलताहरु छन्, त्यसलाई बुँदागत रुपमा दिएको खण्डमा त्यसलाई सम्बोधन गर्न र समयानुकुल सुधार गर्न सकिने बताए ।

अर्थमन्त्रालयले उत्पादनका आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको उनको भनाई छ । कृषिको स्रोत, साधन, पूँजी, र प्रविधि सहित आधुनिकिकरण गर्ने र आफ्नो आवश्यकताका आधारमा व्यवसायीकरण गरेर उद्योगसँग जोडेर कृषिको रुपान्तरणबाट गर्न खोजिएको उनले बताए ।

चालु आवको ८ महिनामा भएको ३ खर्बको खाद्यवस्तुको आयात भैसकेको तथ्याङ्क प्रस्तुत गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि कृषिबाट प्रारम्भ गर्नुपर्ने भएकाले देशभित्रै उत्पादन बढाउनका लागि सरकारी जग्गा, बाँझो जग्गा, वनको जग्गा सबै जग्गा प्रयोग गर्नेगरी दिन सरकार तयार रहेको बताए । यसले मात्र विश्व परिस्थितिले उत्पन्न गरेको जटिलतालाई र बढ्यो आयातको आन्तरिक समस्यालाई समेत सामना गर्न सकिने धारणा उनको थियो । यसो हुन सकेको खण्डमा छोटो समयमा नै देशलाई आत्मनिर्भरको बाटोमा अगाडि बढाउन सकिने र त्यो सम्भावना नेपालमा रहेको जिकिर गरे ।

नेपाल भारत खुला सीमाका कारण सीमा वारी र पारीको सन्तुलन मिलाउनुपर्ने भएपनि नेपालमा एउटा ढंगले नीति बनाउने र अर्को ढंगले सामान आउने गर्दा समस्या हुने गरेको उनको भनाई छ । नेपालमा कमजोर प्रसासनिक क्षमताका कारणले चोरी पैठारी हुने गरेकाले त्यसलाई रोक्न कडाई पुर्वक जानुपर्ने सम्बन्धमा छलफल भैरहेको उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार  १३ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।