आफैँ ऋण तिर्नसक्ने परियोजनामा मात्र विदेशी लगानी भित्र्याइने

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले आफैँ ऋण तिर्नसक्ने परियोजनामा मात्र वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले जनतालाई ऋण बोकाउने परियोजना नभई परियोजना आफैँले ऋण बोक्नेगरी लगानी भित्र्याउने बताए ।

सरकारले परियोजनामा आधारित वैदेशिक लगानी भित्र्याउने तयारी गरेको भन्दै उनले भने, “सरकारले भित्र्याउने लगानी प्रोजेक्ट बेस्डमा र निजी क्षेत्रले ल्याउने लगानी र व्यवसायका लागि सरकाराको तर्फबाट सहजीकरण गर्दछ । कतिपय लगानी परियोजनामा आधारित भएर त कतिपय व्यवसायिक रुपमा ल्याउनुपर्छ । आफैँ तिर्नसक्ने परियोजना मात्र ल्याउँछौं ।”

यस्ता तीनवटा आयोजना निमार्ण गर्न सकेको खण्डमा ६।७ खर्ब रुपैयाँ वैदेशिक लगानी भित्र्याउन सकिने उनले बताए । सरकारले निजी क्षेत्रलाई पनि लगानी र व्यवसायका लागि लगानी भित्र्याउन चाहेमा सरकारको तर्फबाट सहजीकरण गर्ने उनले उद्घोष गरे ।

विश्वमा भैरहेको युद्ध, कोभिड महामारी जस्ता कारणले मूल्यवृद्धि भैरहेको भन्दै उनले आत्मनिर्भर हुनुको विकल्प नभएको उल्लेख गरे । राष्ट्र निर्माण गर्ने, देश बनाउने कुरा गर्दाखेरी केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ, कुण्ठा, वार्गेनिङ, ब्याकमेलिङ गरेर त्यसको विरोध गर्ने गरेको भन्दै उनले त्यस्ता व्यक्तिहरुसँग सर्तक हुन समेत उनले निजी क्षेत्रसँग आग्रह गरेका छन् । त्यसलाई खबरदारी गर्नु निजी क्षेत्रको कर्तब्य रहेको उनको भनाई थियो ।

निजी क्षेत्रसँगको सहकार्यमा व्यापार घाटा घटाउने र देशको हितमा आर्थिक रुपमा आत्मनिर्भर हुनेगरी कार्य अगाडि बढाउन अर्थ मन्त्रालय तयार बताउँदै अर्थमन्त्री शर्माले भने, “त्यसका लागि यसमा आम व्यवसायी, आम जनतालाई परिचालन गर्ने नभई हामीसँग भएको स्रोतको सही सदुपयोग, छरिएर रहेको पूँजीको केन्द्रीकरण, क्षमताको प्रयोग तथा प्रविधिसँगै जाने दक्षता र क्षमताको विकास आजको आवश्यकता रहेको छ । ”

मन्त्री शर्माले देशभित्र भएका स्रोत साधन तथा श्रमको सदुपयोग तथा उपयोग गर्ने उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा जोड दिए । राष्ट्र निमार्ण गर्ने, आर्थिक विकास गर्ने कुरामा भनेको सरकारको नीतिको ठूलो भुमिका रहने बताउँदै त्यस्ता क्षेत्रहरु खोल्न तथा सहजीकरण गर्नुपर्ने उनले बताए । उत्पादनमुलक क्षेत्र तथा उद्योगमा पनि उत्पादन, भ्यालू एड गर्ने, रोजगारी बढाउने आधारमा विद्युत शुल्क कम गर्न नीति बनाउन सरकार तयार रहेको समेत उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले बजेटमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले समयमा प्रशारणलाइन नबनाइदिँदा कयौं मेगावाट बिजुली खेर गएको बताए । आयोजनाको काम समयमा सम्पन्न नहुँदा तथा कतिपय ठाउँमा उत्पादन भैसकेको विद्युत पनि राष्ट्रिय प्रसारण लाईनमा जोड्न नसकिँदा उद्योगहरुमा लोडसेडिङ गर्नुपरेको उनले बताए ।

उवा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको लगानी रहेको २७ मेगावाट दोदी खोलाबाट जलविद्युत आयोजनाबाट उत्पादित बिजुली समेत राष्ट्रिय प्रसारणलाइनमा नजोडिएको विषय राख्दै उनले भने, “प्रसारण लाइन बनाउने क्रममा अलि तीब्रता दिएको भए अहिले समस्या हुन्थेन ।” “ढकाल जीको आयोजना नै जोडिन पाएको छैन । ढिला भइसक्यो घाटा छ ।”

ऊर्जा आपूर्ति व्यवस्थापन गर्न नसक्दा अहिले देशभरका उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेका उनले बताए । नेपाल विद्युतमा आत्मनिर्भर हुने ठाउँमा नै रहेको बताउँदै अहिलेको संकट टार्न आफूले प्रधानमन्त्रीसँग अनुरोध गरिसकेकाले छिटै समस्या समाधान हुने विश्वास व्यक्त गरे । हाल औद्योगिक क्षेत्र र करिडोरका उद्योगले दिनको १२ घन्टा मात्र विद्युत पाउँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।