नेपालले अमेरिकाबाट ८० अर्ब सहयोग पाउने, युएसएआइडी र नेपाली प्रतिनिधीबीच सम्झाैता

0
Shares

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले नेपाललाई ८० अर्ब बराबरको सहयोग प्राप्त गर्ने भएको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) अन्तर्गत नेपाललाई ७९ अर्ब ७१ करोड सहयोग गरेको हो । यो सम्झौता पाँच वर्ष अवधिको हुनेछ । उक्त सहयोग सम्झौता नेपाल सरकारको अर्थ मन्त्रालय र अमेरिकाको युएसएड बीच भएको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सहयोगबाट प्राप्त रकमलाई नेपाल सरकारको रातो किताबमा समावेश गरी पारदर्शी ढङ्गबाट रूपमा कार्यान्वयन अघि बढाइने छ ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरिन् ।

अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।

अर्थ मन्त्रालयका अनुसार यो सहयोग नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । अमेरिकी सहयोगले सुदृढ लोकतान्त्रिक शासन, उद्यम–संचालित आर्थिक वृद्धि र प्राकृतिक प्रकोप र जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका समुदायलाई सहयोग गरी नेपालको दिगो विकासलाई अगाडि बढाउनेछ ।

अमेरिका नेपाललाई द्विपक्षीय सहयोग गर्ने पहिलो दातृ देश हो । नेपाल र अमेरिकाबीच आज भएको पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार  १५ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।